काठमाडाैँ । सरकारले १३२ केभी क्षमताकाे हेटौँडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति प्रकृया अघि बढाएकाे छ । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गरेर प्रकृया अघि बढाएकाे हाे ।
नेपाल विद्युत प्राधिकरणद्वारा प्रवर्द्धित उक्त आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया कानुनी प्रावधान अनुसार अगाडि बढाइएको हो । जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम सूचना प्रकाशन गरी सम्बन्धित जग्गाधनीसँग समन्वय गरिँदै आएको र मुआब्जा निर्धारण समितिबाट निर्णय भइसकेको जनाइएको छ ।
आयोजनाबाट प्रभावित जग्गाधनी तथा सरोकारवालाहरूलाई आवश्यक कागजातसहित सम्पर्कमा आउन प्रशासनले आग्रह गरेको छ । प्रसारण लाइन निर्माणका लागि आवश्यक पर्ने जग्गा तथा संरचनाको विवरण संकलन कार्य सम्पन्न भइसकेको र अब मुआब्जा वितरण तथा जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइने जनाइएको छ ।
यस आयोजनाले क्षेत्रीय विद्युत आपूर्ति सुदृढ गर्नुका साथै उद्योग तथा स्थानीय उपभोक्तालाई भरपर्दो विद्युत सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








