काठमाडौँ । बागलुङको ढोरपाटन क्षेत्रमा निर्माण हुने ८२८ मेगावाट क्षमताको बहुप्रतीक्षित ‘उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना’ निर्माण प्रक्रियामा अघि बढेको छ । दुई दशकदेखि चर्चामा रहेको यो आयोजना अब विस्तृत तयारीसहित कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरिरहेको यो आयोजना निर्माण सम्पन्न भएपछि हिउँदमा समेत स्थिर विद्युत् उत्पादन हुने र ऊर्जा सुरक्षामा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।
आयोजनाको कुल अनुमानित लागत १.०८ अर्ब अमेरिकी डलर अर्थात् करिब १ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । प्रारम्भिक अनुमानभन्दा लागत बढेपछि प्रतिमेगावाट लागत करिब १९ करोड रुपैयाँ पुग्ने देखिएको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर बढ्नु लागत वृद्धिको मुख्य कारण मानिएको छ ।
२०६१ सालदेखि चर्चामा रहेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन २०७६ सालमै पेश भए पनि २०८० मा मात्रै स्वीकृत भएको थियो । हाल विद्युत विकास विभागले आयोजनाको विस्तृत विवरण सार्वजनिक गर्दै प्रभावित पक्षलाई ३५ दिनभित्र सुझाव तथा प्रतिक्रिया दिन आग्रह गरेको छ ।
बागलुङको ढोरपाटन क्षेत्रमा बन्ने यो आयोजना अन्तर्गत उत्तरगंगा नदीमा २०० मिटर अग्लो र ८४० मिटर लामो रक–फिल बाँध निर्माण गरिनेछ । बाँधपछि बन्ने जलाशय १४ किलोमिटर लामो हुनेछ भने यसको उपयोगी पानी भण्डारण क्षमता ४१९.९८ मिलियन घनमिटर रहनेछ ।
आयोजनाबाट संकलित पानीलाई सुरुङमार्ग हुँदै करिब १ हजार ६ सय मिटर तल झारेर दुई चरणमा विद्युत् उत्पादन गरिनेछ । आयोजनामा दुईवटा भूमिगत विद्युतगृह निर्माण हुनेछन्, जसबाट कुल ८२८ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
उत्पादित विद्युत् ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत बागलुङको निसी सब–स्टेशनमा जोडिनेछ । आयोजना निर्माणका लागि पहुँचमार्ग, सुरुङ तथा अन्य पूर्वाधार निर्माण पनि गरिने जनाइएको छ ।
आयोजनाले २०९२ सालदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । जलाशययुक्त आयोजना भएकाले बर्खा र हिउँद दुवै समयमा समान रूपमा विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । वातावरणीय सन्तुलन कायम राख्न उत्तरगंगा नदीमा वर्षभर न्यूनतम पानीसमेत छाडिने योजना समावेश गरिएको छ ।








