काठमाडौै । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । चक्रपथभित्र भरपर्दो, सुरक्षित र सहज विद्युत् आपूर्ति सुनिश्चित गर्ने लक्ष्यसहित प्राधिकरणले नयाँ भूमिगत प्रसारण पूर्वाधार विस्तार गर्न लागेको हो ।
प्राधिकरणका अनुसार बालाजु–महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म प्रसारणलाइन विस्तार गरिनेछ । बालाजु सबस्टेशनदेखि सिंहदरबारसम्मको लाइन करिब ११.९२ किलोमिटर लामो हुनेछ । डबल सर्किट प्रणालीमा निर्माण हुने उक्त भूमिगत प्रसारणलाइनबाट ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने जनाइएको छ ।
आयोजनाअन्तर्गत महाराजगञ्ज, राजदरबार, रत्नपार्क र सिंहदरबार क्षेत्रमा नयाँ सबस्टेशनसमेत निर्माण गरिनेछ । प्रस्तावअनुसार महाराजगञ्ज, राजदरबार र रत्नपार्कमा १३२/११ केभी क्षमताका तथा सिंहदरबारमा १३२/६६/११ केभी क्षमताको सबस्टेशन निर्माण गर्ने योजना रहेको छ ।
प्राधिकरणले प्रसारणलाइन तथा सबस्टेशन निर्माणका लागि अनुमति प्राप्त गर्न विद्युत् विकास विभागमा आवेदन दिइसकेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै आयोजनाबारे आवश्यक सुझाव तथा राय दिन सरोकारवालासँग आग्रह गरेको छ ।
भूमिगत प्रसारणलाइन निर्माणसँगै सहरी सौन्दर्य अभिवृद्धि, अव्यवस्थित तार व्यवस्थापन तथा बढ्दो विद्युत् माग धान्ने लक्ष्य राखिएको छ । आयोजनाअन्तर्गत २१ वटा ‘ज्वाइन्ट पिट’ निर्माण गरिनेछन्, जसको अधिकतम दूरी ५०० मिटरसम्म रहनेछ । आयोजना निर्माणका लागि करिब १.६२ हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ ।
प्राधिकरणले यसअघि रत्नपार्क–महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारणलाइन निर्माण गरिसकेको छ भने काठमाडौं र ललितपुरका अन्य क्षेत्रमा पनि काम जारी रहेको जनाएको छ । पोखरा र भरतपुरमा समेत भूमिगत प्रसारणलाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।
यद्यपि, सहरी क्षेत्रमा विद्युत् पूर्वाधारलाई आधुनिक बनाउने उद्देश्यका साथ सुरु गरिएका कतिपय भूमिगत प्रसारण आयोजनाहरू तोकिएको समयमै सम्पन्न हुन नसक्दा अपेक्षित उपलब्धि हासिल गर्न चुनौती देखिएको छ ।








