काठमाडाैँ । नेपालले चालु आर्थिक वर्षमा भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा विद्युत् निर्यात गर्दै ऊर्जा व्यापारमा उल्लेखनीय फड्को मारेको छ । जलविद्युत् उत्पादन वृद्धि र आन्तरिक माग व्यवस्थापनसँगै नेपाल अब विद्युत् आयातकर्ता मात्र नभई निर्यातकर्ता राष्ट्रका रूपमा स्थापित हुँदै गएको संकेत देखिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालको कुल विद्युत् उत्पादन क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको जानकारी दिएका हुन् । उनका अनुसार देशभित्रको माग धानेपछि अतिरिक्त ऊर्जा भारत निर्यात गर्न थालिएको हो ।
ऊर्जा क्षेत्रमा भएको विस्तारसँगै हाल देशको ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको सरकारले जनाएको छ । पछिल्ला वर्षहरूमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजना, प्रसारण लाइन विस्तार तथा क्षेत्रीय ऊर्जा व्यापार सम्झौताले नेपाललाई विद्युत् निर्याततर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
नेपालले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् भारतीय बजारमा बिक्री गर्दै वैदेशिक मुद्रा आर्जन गरिरहेको छ । ऊर्जा विज्ञहरूका अनुसार विद्युत् निर्यातको बढ्दो प्रवृत्तिले नेपालको व्यापार घाटा कम गर्न, विदेशी मुद्रा सञ्चिति बलियो बनाउन तथा ऊर्जा क्षेत्रमा थप लगानी आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सरकारले जलविद्युत्सँगै सौर्य तथा वैकल्पिक ऊर्जा विस्तारलाई पनि प्राथमिकतामा राखेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण विस्तारसँगै विद्युतीय ऊर्जाको प्रयोग बढाउने, पेट्रोलियम पदार्थमा निर्भरता घटाउने तथा हरित अर्थतन्त्र निर्माण गर्ने लक्ष्य अघि सारिएको छ ।
ऊर्जा क्षेत्रको यो उपलब्धिलाई नेपाललाई दीर्घकालीन रूपमा ऊर्जा आत्मनिर्भर र दक्षिण एसियाको स्वच्छ ऊर्जा निर्यातकर्ता राष्ट्र बनाउने दिशातर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।








