काठमाडाैँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले काठमाडौँको विद्युत् आपूर्ति व्यवस्थापनका लागि वैकल्पिक प्रणाली विकास गर्ने गृहकार्य अघि बढाएको छ ।
बाढीका कारण त्रिशूली काेरिडोर हुँदै काठमाडौँको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् आपूर्ति प्रभावित भएपछि उपत्यकाका अन्य प्रसारण तथा वितरण संरचनामा समेत चाप बढेको छ । आगामी हिउँदमा विद्युत्को माग थप बढ्ने भएकाले त्यसलाई सहज रूपमा व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक आपूर्ति प्रणालीको तयारी थालेको हो ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार काठमाडौँको विद्युत् व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणले ‘टास्क फोर्स’ गठन गरेर काम अघि बढाइरहेको छ। हिउँदमा बढ्ने विद्युत् मागलाई ध्यानमा राख्दै वैकल्पिक आपूर्ति प्रणाली विकास गर्ने विषयमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनले बताए ।
यसैक्रममा मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौँ महानगरपालिकासँग थप भूमिगत विद्युत् ग्रिड निर्माण तथा हाल सञ्चालनमा रहेका भूमिगत प्रणालीलाई थप विश्वसनीय बनाउने विषयमा छलफल गरेको छ ।
छलफलमा केही संवेदनशील क्षेत्रमा भूमिगत वैकल्पिक विद्युत् ग्रिडको विश्वसनीयता बढाउने तथा आवश्यक स्थानमा थप भूमिगत ग्रिड निर्माण गर्ने विषयमा निश्चित कार्यतालिकासहित सहकार्य गर्ने समझदारी भएको प्रवक्ता शाक्यले जानकारी दिए ।
हिउँदमा विद्युत्को माग बढ्ने भएकाले सम्भावित चाप व्यवस्थापन गर्न पूर्वतयारीलाई तीव्रता दिइएको उनको भनाइ छ ।
छलफलमा सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुवोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए। काठमाडौँ महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापन गर्दै आवश्यक सहकार्य गर्ने बताए ।
नेपाल विद्युत् प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौँ उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको हिउँदे माग व्यवस्थापनको आवश्यकताअनुसार सघन सहकार्य गरिने बताए ।
छलफलमा काठमाडौँको विद्युत् लोड व्यवस्थापन तथा आवश्यक कार्यका विषयमा बागमती वितरण तथा ग्राहक निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले प्रस्तुतीकरण गरेका थिए । उनले प्राधिकरणले ‘टास्क फोर्स’ गठन गरी हिउँदे विद्युत् माग व्यवस्थापनको काम अघि बढाइरहेको जानकारी दिए ।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाडौँको हिउँदे विद्युत् माग व्यवस्थापनका लागि सम्बन्धित सबै निकायबीच उच्चस्तरीय समन्वय र सहकार्य आवश्यक रहेको बताए । हिउँदमा विद्युत् प्रणालीमा पर्ने चापलाई सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए ।











