काठमाडाैँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) ले केन्द्रीय नवीकरणीय ऊर्जा कोषअन्तर्गत सञ्चालित दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत कार्यान्वयन हुने पेलेट चुलो आयोजनाका लागि आवेदन आह्वान गरेको छ ।
केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार आवेदन २०८३ साउन २० गतेदेखि खुला गरिएको छ भने इच्छुक आवेदकहरूले २०८३ भदौ ९ गतेभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।
दिगो ऊर्जा च्यालेन्ज फण्ड भायबिलिटी ग्याप फन्डिङ Viability Gap Funding) मा आधारित कार्यक्रम हो । यसको मुख्य उद्देश्य वितरित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता परियोजनामा निजी क्षेत्रको लगानी वृद्धि गर्नुका साथै देशभर स्वच्छ तथा आधुनिक ऊर्जाको पहुँच सुनिश्चित गर्नु रहेको छ ।
केन्द्रका अनुसार यस कार्यक्रममार्फत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता परियोजनाको वित्तीय सम्भाव्यता बढाउन वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ । आवेदन Innovative Window वा Demand Aggregation Window अन्तर्गत केन्द्रको अनलाइन प्रणालीमार्फत पेश गर्नुपर्नेछ ।
यस चरणमा व्यावसायिक तथा संस्थागत क्षेत्रमा तापीय ऊर्जाका लागि प्रयोग भइरहेको एलपीजीलाई जैविक पेलेट चुलोमार्फत प्रतिस्थापन गर्ने आयोजनाका लागि मात्र आवेदन मागिएको छ । होटल व्यवसायी, ऊर्जा सेवा प्रदायक कम्पनी, लघुवित्त तथा सहकारी संस्था, साना तथा मझौला उद्योगले आवेदन दिन सक्ने केन्द्रले जनाएको छ ।
केन्द्रले महिला, दलित, पिछडिएका वर्ग तथा जनजातिले नेतृत्व गरेका संस्थाबाट प्राप्त आवेदनलाई प्राथमिकता दिइने जनाएको छ । तोकिएको समयभित्र आवश्यक कागजातसहित पेश भएका आवेदनलाई मात्र उपलब्ध बजेटका आधारमा मूल्याङ्कन गरिनेछ भने आवेदन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार केन्द्रमा सुरक्षित रहने सूचनामा उल्लेख छ ।











