काठमाडाैँ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न, विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न तथा स्वदेशी विद्युत्को आन्तरिक खपत वृद्धि गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीले सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले अभियानको पहिलो चरण यही भदौ १ गतेदेखि काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गर्ने जनाएको छ ।
विद्युत् राजस्व संकलनको माध्यम मात्र नभई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार भएकाले विद्युत् उपभोगमा रहेको अनावश्यक करभार हटाई विद्युत्लाई सस्तो, सहज र प्रतिस्पर्धी बनाउनुपर्ने पार्टीको धारणा छ । साथै, डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता विद्युत् महसुल तत्काल असुल गर्न सरकारसँग माग गरिएको छ ।
पार्टीका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुलीका सम्बन्धमा मन्त्रिपरिषद्, विद्युत् नियमन आयोग, सार्वजनिक लेखा समिति तथा सम्बन्धित कानुनी र न्यायिक प्रक्रियाबाट महसुल निर्धारण र असुलीका आधार तथा प्रक्रिया स्पष्ट भइसकेका छन् । त्यसैले बक्यौता रकम असुलीमा सरकारले थप ढिलाइ गर्न नहुने पार्टीको भनाइ छ ।
त्यस्तै, नेपालमा उत्पादन भइरहेको विद्युत्को आन्तरिक खपत बढाउन सरकारले विशेष प्राथमिकता दिनुपर्ने पार्टीले जनाएको छ । इन्डक्सन चुलो, विद्युतीय सवारीसाधन तथा विद्युतीय उपकरणको प्रयोग बढाउनुका साथै कृषि, उद्योग र घरायसी क्षेत्रमा विद्युत् खपत विस्तार गर्न आवश्यक प्रोत्साहन, पूर्वाधार र नीतिगत व्यवस्था तत्काल गर्नुपर्ने माग गरिएको छ ।
स्वदेशी विद्युत्को खपत बढाउँदा ग्यास तथा आयातित इन्धनमाथिको निर्भरता घट्नुका साथै व्यापार घाटा न्यूनीकरण र राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्न योगदान पुग्ने पार्टीको दाबी छ ।











