Sunday, September 27, 2026
spot_img

उत्पादनसँगै भरपर्दो र जलवायु उत्थानशील विद्युत् प्रणाली निर्माणमा जोड

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले नेपालको विद्युत् क्षेत्र अब विद्युत् उत्पादन विस्तारमा मात्र सीमित नरही भरपर्दो, गुणस्तरीय, सुरक्षित, उत्थानशील र दिगो विद्युत् प्रणाली निर्माणतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

पाँचौँ अन्तर्राष्ट्रिय दिगो विद्युत् तथा ऊर्जा प्रणाली सम्मेलनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै श्रेष्ठले अबको मुख्य चुनौती कति विद्युत् उत्पादन गर्ने भन्ने मात्र नभई उत्पादित विद्युत्लाई कति भरपर्दो, गुणस्तरीय र प्रभावकारी रूपमा उपभोक्तासम्म पुर्याउने भन्ने रहेको बताए । इन्सटिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर, पावर एन्ड इनर्जी सोसाइटी (आइइइई पिइएस) नेपाल च्याप्टरको आयोजना, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको सहआयोजना तथा नेपाल विद्युत् प्राधिकरणको प्रायोजनमा उक्त सुरु भएको हो । स्वच्छ ऊर्जाको अधिकतम उपयोग गर्दै भविष्यमा बढ्ने विद्युत् माग धान्न सक्ने उत्थानशील विद्युत् प्रणाली निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले विद्युत् आपूर्तिको विश्वसनीयता नेपाल विद्युत् प्राधिकरणको महत्वपूर्ण प्राथमिकता रहेको उल्लेख गर्दै प्रसारण सञ्जालको सुदृढीकरण, विद्युत् उपकेन्द्रको क्षमता विस्तार, वितरण प्रणालीको स्वचालन, सुरक्षा प्रणालीमा सुधार, विद्युतीय निगरानी तथा पूर्वानुमानमा आधारित मर्मतसम्भारमा आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।

श्रेष्ठले विद्युत् आपूर्ति विस्तारसँगै उत्पादक क्षेत्रमा विद्युत्को उपयोग बढाउनुपर्नेमा पनि जोड दिए । विद्युतीय सवारीसाधन, विद्युतीय खाना पकाउने प्रविधि, सिँचाइ, उद्योगमा विद्युत्को प्रयोग, तथ्याङ्क केन्द्र, शीतभण्डार तथा विद्युत्मा आधारित उद्योगको विस्तारमार्फत आन्तरिक विद्युत् खपत बढाउनुपर्ने उनको भनाइ थियो ।

नेपालको भौगोलिक अवस्था तथा बाढी, पहिरो लगायत प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखेर ऊर्जा पूर्वाधार निर्माण गर्दा इन्जिनियरिङ डिजाइनसँगै जलवायुजन्य जोखिम सामना गर्न सक्ने क्षमता विकासलाई प्राथमिकता दिनुपर्ने श्रेष्ठले बताए । उनले युवा इन्जिनियर तथा अनुसन्धानकर्तालाई नेपालको विद्युत् क्षेत्रका वास्तविक समस्यासँग जोडिएका अनुसन्धानमा केन्द्रित हुन आग्रह गर्दै अनुसन्धानलाई केवल शोधपत्र प्रकाशनमा सीमित नराखी विश्वविद्यालय, अनुसन्धान संस्था, सरकार, निजी क्षेत्र र विद्युत् सेवा प्रदायकबीचको सहकार्यबाट व्यवहारिक समाधान विकास गर्नुपर्ने बताए ।

सम्मेलनको दोस्रो सत्रमा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले ‘परम्परागत प्रसारण तथा वितरण प्रणालीदेखि भविष्यको विद्युत् सेवातर्फ’ विषयमा कार्यपत्र प्रस्तुत गरे। उनले हालैको भोटेकोशी बाढीले दिगो लगानी तथा जलवायुजन्य जोखिम सामना गर्न सक्ने ऊर्जा पूर्वाधार विकासको आवश्यकता थप स्पष्ट पारेको बताए ।

सम्मेलनमा क्यानाडाका प्राध्यापक डा. राजेश कार्की, विद्युत् तथा ऊर्जा समाज नेपाल शाखाका अध्यक्ष डा. सुजन अधिकारीलगायत ऊर्जा क्षेत्रका विज्ञ, इन्जिनियर तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img