काठमाडाैँ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले अघि बढाइएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भई एउटा सर्किट चार्ज भएको छ । यसलाई उपत्यकाको प्रसारण प्रणाली सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने उद्देश्यसहित करिब २७ वर्षअघि सुरु भएको आयोजना जग्गा विवाद, स्थानीय अवरोधलगायतका कारण लामो समयदेखि पूर्ण हुन सकेको थिएन ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारीमा रहँदा ललितपुर क्षेत्रमा बढ्दो विद्युत् माग र आपूर्ति प्रणालीको आवश्यकतालाई सम्बोधन गर्न चोभारमा १३२ केभी सबस्टेसन निर्माण गर्ने तथा त्यहाँबाट लगनखेल (पाटन) सम्म भूमिगत १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माण गर्ने वैकल्पिक योजना अघि बढाइएको थियो । आवश्यक लगानी जुटाएर निर्माण प्रक्रिया अगाडि बढाइएको उक्त योजनामा हिमाल सिमेन्टको १२ रोपनी १२ आना जग्गा भाडामा लिने प्रक्रियागत जटिलता र स्थानीय अवरोधजस्ता चुनौती सामना गर्नुपरेको थियो। ती समस्या समाधानका लागि कीर्तिपुर नगरपालिकासँग पटक–पटक छलफल र सहमति गरिएको थियो ।
उक्त आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, स्थानीय जनप्रतिनिधि, सरकारी निकाय तथा अन्य सरोकारवालाको महत्वपूर्ण भूमिका रहेको थियो । चोभार सबस्टेसन सञ्चालनमा आएपछि र चोभार–लगनखेल भूमिगत प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न भएपछि ललितपुर क्षेत्रको विद्युत् आपूर्ति थप सुदृढ हुने अपेक्षा गरिएको छ । यसले काठमाडौं उपत्यकाको समग्र प्रसारण प्रणालीलाई समेत थप भरपर्दो बनाउन सहयोग पुग्नेछ ।
काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग सन् २०३० सम्म ९२५ मेगावाट, सन् २०४० सम्म १ हजार ८२५ मेगावाट र सन् २०५० सम्म ३ हजार १६९ मेगावाट पुग्ने प्रक्षेपण छ । बढ्दो विद्युत् मागलाई विश्वसनीय रूपमा सम्बोधन गर्न प्रसारण लाइन, सबस्टेसन तथा वितरण प्रणालीसम्बन्धी पूर्वाधारको योजनाबद्ध विकास आवश्यक रहेको छ ।
यद्यपि, उपत्यकाको विद्युत् आपूर्ति प्रणाली सुदृढीकरणका लागि अघि बढाउनुपर्ने कतिपय काम ठप्पप्रायः रहनु चिन्ताको विषय भएको उल्लेख गरिएको छ । विद्युत् माग निरन्तर बढिरहेको अवस्थामा पूर्वयोजनाअनुसारका प्रसारण लाइन, सबस्टेसन तथा अन्य आवश्यक पूर्वाधार निर्माणलाई अनावश्यक ढिलाइ नगरी गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
विद्युत् पूर्वाधार विकासका लागि स्पष्ट योजना, संस्थागत प्रतिबद्धता, प्राविधिक दक्षता, प्रभावकारी कार्यान्वयन र सबै सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सम्पन्न भएका कामलाई संस्थागत गर्दै बाँकी आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिइएको छ । बढ्दो विद्युत् मागको प्रक्षेपणसँगै त्यसलाई सम्बोधन गर्ने पूर्वाधार निर्माणलाई पनि योजनाअनुसार अघि बढाउनु आजको प्रमुख आवश्यकता रहेको छ ।











