Sunday, November 29, 2026
spot_img

काठमाडौँ उपत्यकाको खानेपानी तथा ढल व्यवस्थापन सुधारका लागि एडिबीको ५० मिलियन डलर ऋण स्वीकृत

spot_img

Share

spot_img

काठमाडाैँ । एसियाली विकास बैंक (एडिबी) ले काठमाडौँ उपत्यकाको खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन सेवालाई प्रभावकारी बनाउन ५० मिलियन अमेरिकी डलर (करिब पाँच करोड अमेरिकी डलर) बराबरको नीतिगत ऋण र ७ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता अनुदान स्वीकृत गरेको छ ।

काठमाडौँ उपत्यका खानेपानी क्षेत्र सुधार कार्यक्रम (उपकार्यक्रम–१) अन्तर्गत उपलब्ध हुने उक्त सहायता संस्थागत सुदृढीकरण, सेवा प्रदायक निकायको सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले परिचालन गरिनेछ ।

कार्यक्रमले खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रमा लामो समयदेखि विद्यमान संस्थागत विभाजन, कमजोर व्यावसायिक कार्यसम्पादन, पर्याप्त ढल प्रशोधन सुविधाको अभाव तथा एकीकृत योजना र विकासको कमी जस्ता समस्या समाधानमा जोड दिनेछ । यसका लागि क्षेत्रसँग सम्बन्धित संस्थाहरूबीच संस्थागत एकीकरण र समन्वय सुदृढ गर्दै सुशासन, जवाफदेहिता र कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

नेपालका लागि एडिबीका देशीय निर्देशक अर्नाउड कोसुवाले काठमाडौं उपत्यकाका बासिन्दाको जनस्वास्थ्य, आर्थिक विकास र जीवनस्तर सुधारका लागि भरपर्दो तथा दिगो खानेपानी र ढल व्यवस्थापन सेवा अत्यावश्यक रहेको बताएका छन् । उनले यो कार्यक्रमले खानेपानी पूर्वाधारमा भइरहेका लगानीलाई संस्थागत सुधार, सेवा प्रदायकको कार्यक्षमता अभिवृद्धि तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम सामना गर्ने क्षमता विकासमार्फत थप प्रभावकारी बनाउने उल्लेख गरेका छन् ।

कार्यक्रमले नेपाल सरकारको काठमाडौँ उपत्यकाको खानेपानी सेवा प्रदायक संस्थालाई आधुनिक, आर्थिक रूपमा दिगो र नागरिककेन्द्रित संस्थाका रूपमा रूपान्तरण गर्ने प्रयासलाई सहयोग पुर्‍याउनेछ। सुधार कार्यक्रम दुई चरणमा कार्यान्वयन हुने गरी संरचना तयार गरिएको छ । पहिलो चरणमा क्षेत्रको एकीकृत सुशासन संरचना र नियामकीय प्रणाली स्थापना गरिएको छ भने दोस्रो चरणमा ती सुधारलाई कार्यान्वयन गर्दै संस्थागत रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

सन् २०३० सम्ममा कार्यक्रममार्फत काठमाडौं उपत्यकाको खानेपानी सेवा प्रदायक संस्थाको सञ्चालन, प्रशासनिक तथा वित्तीय कार्यसम्पादनमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, पानीको गुणस्तरसम्बन्धी मापदण्डको पालना, उपभोक्ताको गुनासो तथा आवश्यकताप्रति सेवाप्रदायकको जवाफदेहिता र गुणस्तरीय खानेपानी तथा ढल व्यवस्थापन सेवामा पहुँच विस्तार हुने विश्वास गरिएको छ ।

सन् १९६६ मा स्थापना भएको एसियाली विकास बैंक एसिया तथा प्रशान्त क्षेत्रमा दिगो, समावेशी र उत्थानशील विकासलाई सहयोग गर्दै आएको बहुपक्षीय विकास वित्तीय संस्था हो । बैंकमा क्षेत्रका ५० सहित कुल ६९ सदस्य राष्ट्र आबद्ध छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img