काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रसारण लाइन प्रयोग गर्ने सम्झौता भएको छ । पश्चिम सेतीबाट उत्पादन भएको ७५० मेगावाट विद्युत् ग्रिड कम्पनीले निर्माण गरेको लाइनमार्फत भारत लैजान सम्झौता भएको हो ।
ग्रिड कम्पनी र एनएचपिसीबीच सोमबार (बैशाख ३१ गते) द्विपक्षीय सम्झौता भएको हो । सम्झौतामा ग्रिड कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायले हस्ताक्षर गरे ।
यसअघि ग्रीड कम्पनीले आफ्नाे प्रसारण लाइनबाट बिजुली भारत लैजान प्रस्ताव गरे पनि एनएचपीसीले छुट्टै डेडिकेटेड प्रसारण लाइन बनाउने घोषणा गरेको थियो । अहिले भने एनएचपीसीले ग्रिड कम्पनीकै प्रसारण लाइनमा ह्वीलीङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता गरेको हो ।
एनएचपीसीका नेपाल प्रमुख सन्दीप मित्तलले ग्रिड कम्पनीको प्रसारण लाइन प्रयोग गरेबापत ह्वीलीङ चार्ज दिएर बिजुली लैजाने सम्झौता गरेको बताए । पश्चिम सेतीसँगै एसआर ६ र फुकोट कर्णाली समेत एनएचपीसीले निर्माण गर्न लागेको पनि उनले जानकारी दिए । ग्रिड कम्पनीसँगको सम्झौताले बिजुली भारतीय बजारमा लैजान सहज हुने उनको भनाइ छ ।
एनएचपीसीले उत्पादन गर्ने बिजुली पश्चिम सेती कोरिडोर ४०० केभी प्रसारण लाइनको वनलेक सबस्टेसनमा जोडिने छ । भारतीय एक्जीम बैंकको ऋणमार्फत निर्माण हुने प्रसारण लाइनमा २० बिलियन नेपाली रुपैयाँ लगानी हुने उनले बताए ।
२०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत् आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिने गरी सम्झौता भएको थियो । दुई वर्षभित्र कम्पनीले विस्तृत अध्ययन प्रतिवेदन बुझाइसक्नुपर्नेछ ।