काठमाडाैँ । सिक्लेस हाइड्रो पावर लिमिटेडले चुक्ता पुँजीको १५ प्रतिशत र ०.७८९ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीको २०८२ साउन २५ गते बेलुका ५ बजे बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनी सदस्यहरुलाई बोनस सेयर र नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १२ करोड ७५ लाख बोनस सेयर र ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
यसैगरी, कम्पनीले बोनस सेयर जारी भएपश्चात कायम हुने चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ । विद्युत नियमन आयोगको पूर्व स्वीकृति भएपश्चन अनुमोदनका लागि कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले हकप्रद सेयर निष्काशन पश्चात प्राप्त रकम अन्य जलविद्युत् आयोजनाहरुमा लगानी गर्नेछ । अहिले कम्पनीको कास्की जिल्लामा १३ मेगावाटको मदुक्यु जलविद्युत आयोजना सञ्चालनमा छ ।








