काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । सुरुङमा पाइपलाइन (पेनस्टक) जडानसँगै आयोजनाले आगामी तीन महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ ।
हाल सुरुङभित्र स्टिल पाइप जडान, जोइन्ट वेल्डिङ, एंकर ब्लक तथा सुरक्षात्मक संरचनाको काम पूरा गर्न नजिकिएको छ । त्यस्तै, विद्युत्गृह, स्विचयार्ड, प्रसारण संरचना तथा इलेक्ट्रो–मेकानिकल उपकरण जडान पनि समानान्तर रूपमा तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ ।
पाइपलाइन जडान सकेपछि पानी भर्ने (वाटर फिलिङ), दबाब परीक्षण (प्रेसर टेस्ट) र उपकरण परीक्षण चरणमा प्रवेश गरिने र सफल परीक्षणपछि राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति हुने तयारी छ ।
आयोजना व्यवस्थापन पक्षका अनुसार स्थानीय तह, उपभोक्ता समिति र अन्य सरोकारवालासँग समन्वय गर्दै काम अघि बढाइएको छ । “मुख्य संरचनाको काम अन्तिम चरणमा पुगेको छ । मौसमले साथ दिए तोकिएको समयमै परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ,” आयोजनाका एक अधिकारीले बताए ।
राहुघाट आयोजना सञ्चालनमा आएपछि म्याग्दी तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुनुका साथै रोजगारी, पूर्वाधार विकास र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भइरहेको यो आयोजना राष्ट्रिय विद्युत् प्रणाली सुदृढीकरणमा महत्वपूर्ण मानिँदै आएको छ । आयोजना सम्पन्न भएपछि हिउँदयाममा देखिने विद्युत् अभाव न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।








