काठमाडाैँ । काठमाडौँ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा ऊर्जा क्षेत्रका सफल प्रशासकका रूपमा चिनिएका कुलमान घिसिङ पराजित भएका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।
ऊर्जा क्षेत्रको संरचना, सम्भावना र चुनौतिलाई नजिकबाट बुझेका कुलमानले नीति निर्माण तहमै पुगेर ऊर्जा क्षेत्रबाटै समृद्ध हासिल गर्ने उदेश्यले लिएर नेपालको अन्तरिम सरकारको मन्त्री पदबाट राजिनामा दिए र उज्यालो नेपाल पार्टी स्थापना गरेर चुनावको प्रचारप्रसारमा होमिएका थिए ।
तर, चुनावी परिणाम उनका लागि नकारात्मक भयो । अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म एउटा बहस सुरु भएको छ—देशलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउने व्यक्तिलाई मतदाताले किन जिताउन सकेनन् ? प्रशासकीय हिसाबले कुशल व्यवस्थापक, टिम वर्कमा विश्वास, जुझारु, निर्णय क्षमतामा अब्बल र जोखिम बहन क्षमतामा अब्बल घिसिङलाई जनताले चिन्न नसकेका हुन् त ?
धेरैले यस परिणामलाई मतदाताले व्यक्तिको कामभन्दा पनि पार्टीलाई प्राथमिकता दिएको उदाहरणका रूपमा हेरेका छन् । भने केहीले रास्वपा छोड्नुले यस्तो भएको व्याख्या गरेका छन् । ‘राम्रो नेता र योग्य उम्मेदवारले जसरी पनि जित्नुपर्थ्याे, उनी कुन पार्टीसँग सम्बन्धित छन् त्याे मतलबकाे कुरा हाेइन । कुलमान संसदमा हुनैपर्ने उत्कृष्ट व्यक्तिहरूमध्ये एक हुन् । इमानदार र सभ्य मानिसहरू प्रायः ओझेलमा परिरहेकाे देख्दा दुःख लाग्छ’ हरि कार्की भन्छन् ।
कुलमान घिसिङ नेपाली जनतामाझ लोकप्रिय बन्नुको मुख्य कारण उनको ऊर्जा क्षेत्रको नेतृत्व हो । उनी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा करिब ८ वर्ष नेतृत्व सम्हाले । नेपालमा वर्षौँदेखि कायम रहेको चरम लोडसेडिङ अन्त्य गर्ने अभियान सुरु गरे ।
घिसिङको नेतृत्वमा विद्युत व्यवस्थापन सुधार, विद्युत चोरी नियन्त्रण, वितरण प्रणाली सुदृढीकरण तथा आयात–आपूर्ति व्यवस्थापन सुधार जस्ता कदम चालिए । त्यसको परिणामस्वरूप केही वर्षमै देशव्यापी लोडसेडिङ अन्त्य भएको घोषणा गरियो र नेपाल अन्धकारबाट उज्यालोतर्फ उन्मुख भयो । एक समय नेपालमा दैनिक १६–१८ घण्टासम्म लोडसेडिङ हुने अवस्थाको अन्त्य गरे, त्यसैका कारण उनलाई ‘उज्यालो नेपालका नायक’ भनेर समेत चिनिन्छ
उनको कार्यकालमा घाटामा रहेको संस्थाबाट प्राधिकरण नाफा कमाउने संस्थामा रूपान्तरण भएको भयो । विद्युत आपूर्ति स्थिर भएपछि उद्योगधन्दा पुनः सञ्चालनमा आउन थाले, उत्पादन बढ्न थाल्यो र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव परेको थियो ।
यही कारण धेरै नेपालीका लागि कुलमान घिसिङ केवल एक प्रशासक मात्र नभई ‘उज्यालो नेपालको प्रतीक’ बने । उनको कामलाई उदाहरणीय मान्दै धेरैले उनलाई इमान्दार र परिणाममुखी नेतृत्वको प्रतिनिधि पनि मानेका छन् ।
अन्तरिम सरकारको ऊर्जा मन्त्री रहँदा पनि उनले ऊर्जा क्षेत्र, पूर्वाधार निर्माण अन्तर्गत नीति निर्माणमा सक्रिय भूमिका खेलेका थिए । उनले जलविद्युत् विकासलाई तीव्रता दिनुपर्ने, नेपाललाई विद्युत् निर्यात गर्ने देश बनाउने र ऊर्जा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य अघि सारेका थिए । साथै उनले निजी क्षेत्रलाई जलविद्युत् लगानीमा प्रोत्साहन गर्नुपर्ने धारणा बारम्बार व्यक्त गर्दै आएका थिए ।
निजी क्षेत्रले पनि घिसिङप्रति ठूलो अपेक्षा राखेको थियो । ऊर्जा संकट अन्त्य भएपछि उद्योगी व्यवसायीहरूले स्थिर विद्युत् आपूर्ति, उत्पादनमूलक उद्योगको विस्तार, औद्योगिक विद्युत् शुल्क व्यवस्थापन र विद्युत् निर्यातको अवसर बढाउने जस्ता नीतिगत सुधारमा उनको नेतृत्व अपेक्षा गरेका थिए । यदि घिसिङले नीतिगत तहमा काम गर्ने अवसर पाए भने ऊर्जा क्षेत्रमार्फत नेपालले आर्थिक विकासमा ठूलो फड्को मार्न सक्ने ऊर्जा उद्यमीहरुको भनाई थियो ।
यस्तो पृष्ठभूमि भएका व्यक्तिको चुनावी पराजयले भने नेपाली राजनीतिक संस्कृतिबारे नयाँ प्रश्न खडा गरेको छ । उनले सम्पादन गरेको काम, देशका लागि पुर्याएको योगदानको कदर भएको छैन । केही समयपहिलेसम्म उनले गरेको कामको प्रशंसा हुन्थ्यो तर, त्यो व्यवहारमा देखिएन ।
विश्लेषकहरूका अनुसार चुनावमा व्यक्तिगत लोकप्रियता मात्र पर्याप्त हुँदैन; बलियो पार्टी संगठन, चुनावी संयन्त्र र राजनीतिक लहर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले “नयाँ शक्ति र परिवर्तन”को नारासहित देशभर बलियो समर्थन पाएको थियो । यही लहर काठमाडौँमा पनि देखियो र धेरै मतदाताले व्यक्तिभन्दा पार्टीलाई प्राथमिकता दिएको पाइयो ।
काठमाडौँ–३ को परिणामले नेपाली लोकतन्त्रको एउटा यथार्थ पनि उजागर गरेको छ । कहिलेकाहीँ इतिहास बनाउने र परिणाम देखाउने व्यक्तिहरू पनि चुनावी अंकगणितमा पराजित हुन सक्छन् ।
कुलमान घिसिङले ऊर्जा क्षेत्रमा गरेको योगदान नेपालका लागि महत्वपूर्ण अध्याय हो, तर चुनावी राजनीति भने कामको मूल्यांकन मात्र नभई संगठन, रणनीति र जनमतको लहरले पनि निर्धारण गर्ने क्षेत्र भएको यो परिणामले देखाएको छ ।








