काठमाडाैँ । आइतबार आएको हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढलेर विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा पुनःसञ्चालनको कामलाई तीव्र बनाएको छ । प्रतिकूल मौसमका कारण केही क्षेत्रमा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा प्राविधिक टोलीहरू निरन्तर खटिएर लाइन मर्मत तथा विद्युत् सेवा पुनःसञ्चालनको काम गरिरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले विद्युत् सेवा छिटो पुनःसञ्चालन गर्न प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
प्राधिकरणले दिएको जानकारीअनुसार पिलुवा–पथलैया–चन्द्रनिगाहपुर खण्डअन्तर्गत टावर नं १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएको थियो । उक्त क्षेत्रमा ढलेको रुख हटाइसकिएको छ भने हाल सर्किट चार्ज गर्ने काम भइरहेको छ ।
यस्तै, सोही खण्डको टावर नं १३६–१३७ बीच ढलेका तीन वटा रुख हटाइसकिएको प्राधिकरणले जनाएको छ । लाइन पुनःसञ्चालनका लागि आवश्यक प्राविधिक काम जारी रहेको बताइएको छ ।
त्यसैगरी अमलेखगञ्ज–कामाने खण्डको टावर नं ४६–४७ बीच रुख ढल्दा प्रसारण लाइनको कन्डक्टरमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ भने ‘स्ट्रिङिङ’ कार्य सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
आइतबार दिउँसो आएको हुरीका कारण विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएपछि सोमबार बिहानसम्म सेवा सहज बनाउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।








