काठमाडाैँ । आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएपछि असार महिनाको विद्युत् खपतमा समेत भ्याट जोडिएको बिल आएको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले यस विषयमा गम्भीर चासो व्यक्त गरेका छन् ।
असार महिनामा खपत भएको विद्युत्को बिल साउनको पहिलो सातामा जारी गर्दा भ्याट समावेश गरिएको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आएपछि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई कानुनी तथा व्यवहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएका छ्न् ।
मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि अनावश्यक आर्थिक भार पर्न नहुने उल्लेख गर्दै देखिएको अन्योल तत्काल अन्त्य गर्न पनि प्राधिकरणलाई निर्देशन दिए ।
मन्त्रीको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले असार महिनामा खपत भएको विद्युत्को बिल साउन महिनामा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या माग्दै आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको जनाएको छ । साथै, न्यूनतम डिमान्ड चार्जमा समेत भ्याट लाग्ने वा नलाग्ने विषयमा विभागको धारणा पनि मागिएको छ ।
प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आवश्यक भए आगामी महिनाको बिलमा मूल्य समायोजन गरिनेछ । यसबाट उपभोक्तामा देखिएको अन्योल र गुनासो समाधान हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ ।








