काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्जको करिब ८ किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् प्रसारण लाइन निर्माणको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेपछि भूमिगत विद्युतीकरणको काम अघि बढाइएको हो ।
करिब १७ करोड ८६ लाख रुपैयाँको लागतमा २५ मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको भूमिगत लाइन निर्माण गर्न लागिएको हो । यसको जिम्मेवारी शारदा एण्ड सुम्नीमा भिसान जेभीले पाएको छ ।
हाल सञ्चालनमा रहेको भूमिगत विद्युतीकरणमा पटकपटक समस्या देखिएपछि नयाँ भूमिगत लाइन निर्माण गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख जितेन्द्रकुमार झाका अनुसार यसअघि जडान गरिएको भूमिगत तारको क्षमता ८ मेगावाट मात्र भएकाले विद्युत् प्रवाहमा समय–समयमा समस्या आउने गरेको थियो ।
नयाँ भूमिगत विद्युतीकरण भने पुरानै स्थानबाट नभई नयाँ मार्गबाट गर्न लागिएको झाले जानकारी दिए । विद्युत् आपूर्तिमा समस्या आउँदा त्यसको पहिचान गर्न लामो समय लाग्ने भएकाले दीर्घकालीन समाधानका लागि नयाँ प्रणाली निर्माण गर्न लागिएको उनकाे भनाइ छ ।
ठेक्का सम्झौता भएसँगै निर्माण कम्पनीले भूमिगत विद्युतीकरणका लागि आवश्यक नक्साङ्कनको काम सम्पन्न गरिसकेको छ । अहिले २५ मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको तार खरिद प्रक्रिया अघि बढाइएको छ। वर्षायाम सकिएपछि निर्माण कार्यले थप गति लिने कार्यालय प्रमुख झाले बताए ।
माडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले विद्युत् आपूर्ति गर्दै आएको छ । वितरण केन्द्रका प्रमुख रुद्रराज विष्टका अनुसार केन्द्रअन्तर्गत करिब ११ हजार ७०० ग्राहक रहेका छन् । ती ग्राहकले मुख्यतः घरायसी तथा सिँचाइ प्रयोजनका लागि विद्युत् प्रयोग गर्दै आएका छन् ।
चितवनको माडी नगरपालिका चारैतिरबाट जङ्गलले घेरिएको छ । नगरपालिकाको अधिकांश भूभाग चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । माडीवासीलाई जिल्ला सदरमुकाम भरतपुर आउजाउ गर्नसमेत निकुञ्जकै बाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।
गत वैशाख ७ गते निर्माण कम्पनीसँग नौ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपछि भूमिगत विद्युतीकरणको काम अघि बढाइएको हो । नयाँ प्रणाली निर्माण सम्पन्न भएपछि माडी क्षेत्रमा विद्युत् आपूर्तिमा देखिँदै आएको समस्या कम हुनुका साथै विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।











