काठमाडौँ । बंगलादेशको मन्त्रिपरिषदले नेपालबाट ५ वर्षसम्मका लागि ४० मेगावाट जलविद्युत् किन्न गरेको निर्णय स्वीकृत गरेको छ । बंगलादेशका अर्थ मन्त्री अब्दुल हसन मोहोम्मद अलीको अध्यक्षता जेठ २९ गते बसेकाे ‘क्याबिनेट कमिटि अन गभर्मेन्ट पर्चेज (सीसीजीपी)’ को १५औं बैठकले उक्त निर्णय स्वीकृत गरेको हो ।
सीसीजीपीको बैंठकले नेपालबाट ५ वर्षसम्म ४० मेगावाट विद्युत् खरिद गर्न गरेको प्रस्ताव स्वीकृत गरेको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् । बंगलादेशले भारतको प्रसारण ग्रीड हुँदै बिजुली लैजाने छ । यसका लागि सम्झौता गर्ने तयारी भइरहेको छ ।
बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीपी), नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘बंगलादेशको मन्त्रिपरिषदले नेपालबाट विद्युत् किन्ने प्रस्ताव स्वीकृत गरिसकेको छ । भारतले पनि भारतीय ग्रीड प्रयोग गर्न दिने सहमती जनाइसकेको छ,’ उनले बुधबार ऊर्जा संचारसँग भने, ‘आगामी असार दोस्रो साताभित्र सम्झौता गर्ने तयारी छ ।’ यही भदौभित्र विद्युत् निर्यात सुरु गर्ने गरी प्रक्रिया अघि बढीरहेको पनि उनले जानकारी दिए ।
बंगलादेशले प्रतियुनिट ८.१७ टाका (करिब ९.३० रुपैयाँ) मा नेपालबाट जलविद्युत् खरिद गर्ने निर्णय गरेको छ । उक्त परिमाणको बिजुली खरिद गर्न बंगलादेशले ६५० करोड टाका (करिब ७१६ करोड ८६ लाख रुपैयाँ) बराबरको ५ वर्षे परियोजना सुरु गरेको छ ।
नेपालले त्रिशूली आयोजनाबाट २४ मेगावाट र अर्को आयोजनाबाट १६ मेगावाट विद्युत् पठाउने तयारी गरेको छ । प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ भित्र विद्युत् निर्यात गर्ने प्रस्ताव गरेको थियो । तर बंगलादेशबाट जुन ११ मा बल्ल ४० मेगावाट बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत भएको छ । बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो ।
सन् २०३५ भित्र ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य
बंगलादेशले आफ्नो देशमा गहिरिँदै भएको विद्युत् संकट व्यवस्थापन गर्न आगामी १७ वर्ष अर्थात सन् २०४० भित्र नेपाल लगायत छिमेकी मुलुकबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने रणनीति लिएको छ । नेपालबाट तत्कालै ५०० मेगावाट विद्युत् आयात गर्न चाहेको बताउँदै आएको छ । नेपालले पनि सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १० हजार मेगावाट भारत र ५ हजार मेगावाट बंगलादेश निर्यात गर्ने लक्ष्य लिएको छ । बाँकी १३ हजार ५ सय मेगावाट आन्तरिक खपत बढाउने योजना छ ।