Thursday, October 10, 2024
spot_img

मोतिहारी-अमलेखगन्ज पाइप लाइन: भदाैभित्रै पेट्रोलियम पदार्थ ल्याउने

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल आयल निगमले आगामी भदौभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।

निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ ।

आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्यांक निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टितेल पाइप लाइनबाट ल्याइने बताए ।

उनका अनुसार दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबैजसो काम सकिएका छन् । दोस्रो चरणअन्तर्गत ४ हजार १०० किलोलिटर क्षमताका दुई वटै ट्यांक निर्माणको काम सम्पन्न भइसकेको छ ।

पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चमा प्रतिलिटर ३ रुपैयाँ कम हुनेछ । यसबाट ढुवानी खर्च घट्नेछ भने अर्कातर्फ वातावरण प्रदूषण पनि कम हुने छ । योसँगै वार्षिक १ अर्ब रुपैयाँ रकम ढुवानी भाडा जोगिनेछ । निगमले अहिले पेट्रोल तथा मट्टितेल भारतको बरौनीबाट ट्यांकरबाट ल्याउँदै आइरहेको छ । डिजेल भने पाइप लाइनबाटै भित्रिदै आइरहेको छ ।

निगमका अनुसार २५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्यांक निर्माण भइरहेको छ भने २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माणको काम भइरहेको छ । निगमले मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना दोस्रो चरणअन्तर्गतको पूर्वाधार निर्माणका लागि भारतीय कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।

निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि १ अर्ब ५४ करोड भारु खर्चिएर ४ हजार १०० किलोलिटर क्षमताको पेट्रोलको ट्यांक, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माण गर्दै आइरहेको छ ।

त्यसैगरी इन्डियन आयल कर्पोरेसन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर ४ हजार १०० किलोलिटर क्षमताको ट्याङक, २५० किलोलिटर क्षमताको दुई वटा ट्रान्समिक्स ट्याङक, ३ हजार किलोलिटर क्षमताको दुई वटा फायरवाटर ट्यांक निर्माण गर्दै आइरहेको छ ।

सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर कुल २ अर्ब ७५ करोड भारु लाग्ने अनुमान थियो । सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले २अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजना बनाइएको थियो । पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेलको आयात भइरहेको निगमले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img