काठमाडाैँ । भारत र बंगलादेशबीच विद्युत् व्यापारका लागि ७६५ केभी क्षमताको बिहार–दिनाजपुर प्रसारण लाइन निर्माण हुने भएको छ । बिहार राज्यको कटिहारी, आसामको बोरनगर हुँदै बंगलादेशको दिनाजपुरको पार्वतीपूरसम्म लाइन निर्माण गर्न लागिएको हो ।
यसअघि नेपाल, भुटान, भारत र बंगलादेश जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भएको थियो । सुरुमा बंगलादेशको दिनाजपुर हुँदै प्रस्तावित प्रसारण लाइनको प्रयोग भारतले बिहार र आसामबीच विद्युत् आपूर्तिका लागि गर्नेछ । साथै, भविष्यमा नेपाल र भुटानको प्रसारण लाइनमा पनि जोडिनेछ ।
सुरुमा भारतले बंगलादेशको दिनाजपुरलाई कोरिडोरको रूपमा प्रयोग गरेर आसाम र बिहारलाई जोड्ने प्रस्ताव राखेको थियो । भारतले विभिन्न नदीमा बाँध बनाएर जलविद्युत आयोजनामार्फत विद्युत् उत्पादन गर्ने र उत्तर–पूर्वीबाट भारतको उत्तर–पश्चिमी भागमा विद्युत लैजाने योजना बनाएको छ । यही कोरिडोरलाई पछि बीबीआईएन (भुटान, बंगलादेश, भारत, नेपाल) भनिने चार छिमेकी देशहरूलाई जोड्न क्रसबोर्डर पावर ट्रान्समिसन लाइनको रूपमा प्रयोग गरिनेछ ।
भारतबाट सौर्य ऊर्जा, नेपाल र भुटानबाट जलविद्युत् आयात गर्न बीबीआइएन ग्रिड स्थापना गर्नु आवश्यक छ । नेपाल र भुटानबाट भारत हुँदै बंगलादेश जलविद्युत् आयात गर्ने निर्णय लामो समयदेखि विचाराधीन छ ।
नेपालबाट ५०० मेगावाट विद्युत् आयात गर्न भारत, बंगलादेश र नेपालबीच छिट्टै त्रिपक्षीय सम्झौता हुने प्रक्रियामा छ । भारतीय कम्पनी जीएमआर कर्णाली हाइड्रो पावर कम्पनी लिमिटेडले नेपालमा ९०० मेगावाटको विद्युत् आयोजना निर्माण गर्दैछ । बंगलादेश त्यहाँबाट बिजुली लिन विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्ने तयारीमा छ ।
यो प्रसारणलाइन निर्माणले नेपाल र बंगलादेशलाई समेत विद्युत व्यापारमा सहज हुनेछ । यस अघि दुईदेशबीच विद्युत व्यापार सुरु गर्न प्रसारणलाइनको समस्या रहेको भन्दै भारतले अनुमति दिएको थिएन । ५० मेगावाटसम्मलाई भने सहमति दिएको छ । नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता गर्ने अन्तिम तयारीमा छन् । सम्झौता भएपछि नेपालको बिजुली बंगलादेश जान्छ । बंगलादेशले ६८३ मेगावाटको सुनकोसी–३ निर्माण गर्ने र बिजुली उतै लैजाने तयारीमा छ ।
४० मेगावाट विद्युत् खरिदका लागि सम्झौता हुँदै
बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो ।
कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबीले १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी ५ वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो । प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्र सम्बन्धी कागजात पेश गरेको थियो । पेश गरिएका बोलपत्र सम्बन्धी कागजात मूल्याङ्कन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिंदै बिपिडिबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरू हुन् ।
प्राधिकरणले बंगलादेशमा विद्युत बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।