काठमाडाैँ । नेपाल र बंगलादेशबीच बिहीबार (भोली) साढे ४ बजे विद्युत् व्यापार सम्झौता हुने तय भएको छ । लामो समयदेखिको निरन्तर छलफल र वार्तापछि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच सम्झौता हुन लागेको हो ।
आज मिति २०८१ असोज १६ गते बसेको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको छठौं बैठकको छलफलले असोज १७ गते अर्थात भोली त्रिपक्षीय सम्झौता गर्ने सहमति भएको हो । यसअघि नेपालबाट ४० मेगावाट विद्युत् निर्यातका लागि नेपाल र बंगलादेशबीच गत साउन १३ गते नै सम्झौता गर्ने तयारी थियो । तर, आरक्षणका कारण भएको विरोधले सम्झौता स्थगित भएको थियो ।
नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य तथा जनगणतान्त्रिक बंगलादेश सरकारको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हविबुर रहमानको सहअध्यक्षतामा छैठाैं बैठक काठमाडौँमा सम्पन्न भयो । उक्त बैठकले हिजो सम्पन्न भएको दुवै देशका सहसचिव सम्मिलित संयुक्त कार्य समूहको बैठकले गरेका सिफारिसहरूमा छलफल समेत गरेको थियो ।
उक्त बैठकमा नेपाल–बंगलादेश बीच ४० मेगावाट विद्युत व्यापारको शुरुवातको लागि प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र एनटिपिसि विद्युत व्यापार निगम बीच हुने त्रिपक्षीय सम्झौता लगायत नेपाल–बंगलादेश अन्तरदेशीय विद्युत प्रसारण लाइनहरूको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी–३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तर्देशीय विद्युत आयात–निर्यात गर्ने लगायतका आधा दर्जन विषयहरूमा छलफल गरी निर्णय गरेकाे छः
१. नेपालमा उत्पादित ४० मेगावाट विद्युत वंगलादेशमा निर्यात गर्नका लागि भोलि असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसि विद्युत व्यापार निगम, भारत बीच विद्युत विकी सम्झौतामा हस्ताक्षर गर्ने ।
२.बंगलादेश र भारतबीच सहकार्यपूर्ण सहभागीता आधारमा विकास गर्ने र उक्त आयोजना विकास गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौतामा अर्को बैठक अगाडि टुङ्गो लगाउने । साथै, सुनकोशी–३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुर्याउने सुनिश्चितताको लागि भारत सरकारलाई अनुरोध गर्ने ।
३. नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने ।
४. नेपालको जलविद्युत क्षेत्रमा लगानीको प्रवद्र्धन गर्नको लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरुको खोजी गर्ने ।
५. वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र Sustainable and Renewable Energy Development Authority बंगलादेशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रलाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रुप दिने र हस्ताक्षर गर्ने ।
६. नेपाल, बंगलादेश र भारत वीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विद्युत क्षेत्रमा सहकार्य गर्नका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गर्ने ।