काठमाडाैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई दिनमै १४ करोड रुपैयाँ बढीको सहयोग जम्मा भएको छ । नेपालमा जलविद्युत् आयोजना निर्माण गरिरहेका भारतीय कम्पनी लगायत नेपालकै वित्तीय संस्था तथा अन्य संघसस्थाहरूले हालै बाढी पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि सहयोग गरिरहेका छन् ।
कोषमा आइतबार (असोज २०) र सोमबार (असोज २१) दुई दिनमा १४ करोड ३२ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ । सोमबार नेपालमा ९०० मेगावाटको अरुण ३ जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत् निगमको नेपाली सहायक कम्पनी एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्रालिले उक्त कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीको इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइनतर्फका सिई प्रशान्त शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । एनएचपीसी लिमिटेडले पनि कम्पनीका वित्त निर्देशक आरपी गोयलमार्फत १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
यसैगरी, प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनले बैंकको तर्फबाट १ करोड, प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकको तर्फबाट ३१ लाख, प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लले कम्पनीका तर्फबाट २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । साथै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनले कम्पनीको तर्फबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले कम्पनीका तर्फबाट २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री कोषमा आइतबार अर्थात असोज २० गते मात्रै १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आइएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण भएको छ । यसैगरी नेपाल बैंक लिमिटेडबाट दुई करोड, निर्माण व्यवसायी विकास परिषबाट एक करोड, एनएमबी बैंकबाट ५१ लाख, नेपाली काँग्रेसबाट ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट ५० लाख, नेपाल इन्स्योरेन्सबाट५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख रुपैयाँकाे सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।