काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताका ३४ प्रसारण लाइन निर्माण गर्ने योजना अघि सारेको छ । प्राधिकरणले प्रसारण निर्देशनालय र परियोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत लाइन निर्माण गर्न लागेको हो ।
प्राधिकरणले निर्माणाधीन तथा निर्माण सम्पन्न विद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न तथा विद्युत् व्यापार गर्नका लागि लाइन निर्माण प्रक्रिया अघि बढाएको हो । प्रसारण निर्देशनालय अन्तर्गत ४०० केभीको ६ वटा, २२० केभीको ५ वटा र १३२ केभीकाृे १० वटा प्रसारण लाइन आयोजना निर्माण गर्ने योजना अघि बढाएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार ४०० केभीको अरुण इनरुवा अनारमणी, अरुण–दुधकोसी–तिङ्ला, दूधकोसी–ढल्केबर, न्यू बुटवल–गोरखपुर, निजगढ–हर्निया, हर्निया–बोदेबर्साइन लाइन निर्माण योजना अघि बढाइएको छ ।
२२० केभीको धौबढी आइरन माइन, गण्डक–नेपालगन्ज, काठमाडौँ उपत्यका प्रसारण प्रणाली, चिलिमे –केरुङ लाइन निर्माण हुने भएको छ । यसैगरी, १३२ केभीको गोदक–अनारमनी, कमाने–फापरबारी, स्याउले –धनगढी, औराह–सिमरा, धाउबढी–मेघौली, दमक–केरुङ–विराटनगर, रुपनी–बोदेबर्साइन, लहान–सुखिपुर, चन्द्रपुर–शुखदेवचौर लाइन निर्माण गर्ने प्राधिकरणको योजना छ ।
यसैगरी, परियोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत ४०० केभीकाे ९, २२० केभीको १ र १३२ केभीको ३ वटा लाइन निर्माण गर्ने योजना रहेको छ ।
४०० केभीको निजगढ–रमौली, न्यू बुटवल–लमही, लमही–न्यू कोहपुर, न्यू कोहलपुर–दोदोधारा, दोदोधारा–न्यू अन्तरिया, न्यू खिम्ती–तामाकोसी ३ हब–ढल्केबर, तिङ्ला हब–लिखु हब–न्यू खिम्ती, बुढीगण्डकी कोरिडोर, दमौली–कुस्मा–बुर्तिबाङ–बाफिकोट लाइन निर्माण हुने भएको छ ।
२२० केभीको ओखरपुवा–तिनपिप्ले लाइन निर्माण हुनेछ । १३२ केभीको दैलेख–कालीकोट–जुम्ला, लामोसाँघु–काभ्रे÷रामेछाप, नेपालगन्ज–नानपारा लाइन निर्माण गर्ने योजना रहेको प्राधिकरणले जानकारी दिएको छ ।