Friday, March 28, 2025
spot_img

बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

spot_img

Share

spot_img

काठमाडौँ । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुर्नस्थापना प्रणाली  टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ ।

तामाकोशी नदीमा  आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको छ । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ ।

खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत आयोजनाहरुको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,‘खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको छ, भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भएको छ, त्यसैले इआरएस संरचनाको प्रयोग गरी लाइनलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको हो ।’ उनले अहिले इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने उल्लेख गरे ।

प्राधिकरणले आफैंसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि इआरएस टावर जडान गरिसकिएको छ । इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, रामेछापका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा स्थानीयसँग सहमति जुटेपछि २ कात्तिकबाट इआरएस टावर राख्न सुरु गरिएको थियो । टावर जडान सकेर तार तान्न सुरु गर्न लाग्दा फेरि दोलखाका स्थानीयले अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा उनीहरुसँग आइतबार सहमति जुटेको छ । अब तार तान्न सुरु गरिने छ । यसका लागि करिब ४ दिन लाग्ने प्राधिकरण खिम्ती ग्रिड शाखाका प्रमुख मनोज साहले जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img