काठमाडौँ । ललितपुर जिल्लाको कुसुन्तीबासी पछिल्लो एक महिनादेखि विद्युत् कटौतीका कारण हैरानी खेप्दै आएका छन् । ललितुपर महागनरपालिकाको वडा नम्बर १३ को कुसुन्ती क्षेत्रका स्थानीयबासी जुनसुकै बेला बत्ति आउने जाने समस्याले ग्रसित छन् ।
नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय विद्युत् खपत बढाउन उपभोक्ताहरूलाई लगातार आग्रह गर्दै आइरहेको छ । तर, विद्युत् आपूर्ति नियमिततामा भने अझै आश्वस्त तुल्याउन सकेको छ ।
नेपालको विद्युत् उत्पादन जडित क्षमता करिब ३५०० मेगावाट पुगेपनि हालसम्म उपभोक्ताहरूले गुणस्तरीय विद्युत् नियमीत पाउन सकेका छैनन् ।
बेला कुबेला झ्याप्पझ्याप्प बत्ति जाने समस्याले कुसुन्तीबासी दिक्क भइसकेका छन् । बिहान बेलुका त बत्ति जान्छ नै साथै दिउँसो पनि बत्ति जाने गरेको स्थानीय सुपद्रा उपाध्यायले बताईन । ‘बिहान र साँझ इन्डक्सनमा खाना बसालेपछि फ्याट्ट बत्ती जान्छ । एकछिन पछि आउँछ होला भनेर ‘वेट’ गरियो तर, आएन । खाना पकाउन ग्यास कै प्रयोग गर्नुपर्यो । करिब ३/४ घण्टापछि आउँछ तर, मुस्किलले ५ मिनेट बस्छ फेरि जान्छ ।’ उनले भनिन् ।
‘नत बिहान बेलुका खाना पकाउन पाइन्छ, नत पानी तान्नको लागि मोटरको प्रयोग गर्न पाइन्छ । बत्ती कै कारणले गर्दा पानी तान्ने मोटर पनि प्रयोग गर्न सकिएको छैन । काठमाडौँमा पानी एकदम महत्व छ पानी छैन भने केही छैन’ उनले थपिन् ।
यसैगरी, अर्को स्थानीय विश्व खत्रीले पनि बत्ती आउने जाने हुँदा साह्रै दुख पाएको बताए । प्राधिकरण लगनखेल वितरण केन्द्रको नो लाइटमा फोन गर्यो भने ‘१०/१५ मिनेट लाग्छ’ भन्ने जवाफ आउँछ तर त्यो अवधिमा बत्ति आउँदैन । ‘खोई के भएको छ हेर्नै पर्छ प्राविधिक जाँदै हुनुहुन्छ’ भन्ने जवाफ आउँछ’ उनले भने ।
यस्तो अघोषित विद्युत् कटौतीले घरेलु ग्राहकसँगै स्थानीय व्यवसायीहरू झन मर्कामा परेका छन् । विद्युत् सेवा अनियमित हुँदा रातको समयमा विद्यार्थीहरूलाई अध्ययनमा समेत समस्या भएको जनाइएको छ । बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युतबाट चल्ने धेरै सामाग्री बिग्रिने गरेका छन् ।
वितरण केन्द्रका इन्जिनियर आशिष नेपालले हिजो अर्थात मंसिर १६ गतेदेखि सबै समस्या समाधान भएकोले अब विद्युत् कटौति नहुने बताए । ‘हामीलाई पनि स्थानीयहरूको धेरै गुनासो आएको थियो । कुसुन्ती क्षेत्रको एमसिबीमा समस्या आएकोले विद्युत् कटौती भएको हो,’ उनले भने, ‘फेरि जाडो मौसममा विद्युत् खपत बढी हुने हुँदा पाटन सबस्टेसनबाट नयाँ फिडर पनि निकालेका छौं । पाटन हुँदै महालक्ष्मीथान, खुमलटार, रिङरोड क्षेत्रमा विद्युत् आपूर्ति सहज हुनेछ ।’