काठमाडौँ । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल सहित ४ मुलुकमा बन्द नहुने भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम ‘रोयटर्स’का अनुसार नेपालसहित मंगोलिया, आइभोरी कोस्ट र सेनेगलमा एमसीसी अन्तर्गतका परियोजना नरोकिने भएको छ ।
एमसीसीअन्तर्गत परियाेजना नेपालसहित विभिन्न २० देशहरूमा सञ्चालन भइरहेकोमध्ये १६ देशमा बन्द हुने भएको छ । अमेरिकी सरकारी दक्षता विभाग (डज) ले मंगलबार सबै कर्मचारीलाई इमेलमार्फत एमसीसी अनुदान सहयोग बन्द हुने जानकारी दिएको थियाे । तर, नेपाल सहित ४ देशको भने बन्द नहुने भएको छ ।
एमसीसीका एक कर्मचारीले रोयटर्सलाई बताएअनुसार मंगोलियाको फोहोर पानी प्रशोधन केन्द्र, सेनेगल र नेपालको प्रसारण लाइन र आइभोरी कोस्टमा विद्यालयसहितका परियोजनाहरू बाहेक अन्य बन्द हुने भएकाे छ ।
अमेरिकाले साढे ३ महिनाअघिदेखि एमसीसी अन्तर्गतका सबै परियोजनाहरू स्थगित गरेको थियो । नेपाल सरकार र यस निकायबीच २०७४ भदौ २९ गते एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । अर्थमन्त्रालयका अनुसार हालसम्म ८.४६ प्रतिशत काम पूरा छ। चालु आर्थिक वर्षमा कुल ९ अर्ब ९० करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन भएको यस परियोजनामा पुस मसान्तसम्म ८३ करोड ८० लाख रुपैयाँ खर्च भएको छ ।
एमसीसीको नेपालस्थित कार्यालयका अनुसार हालसम्म १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन ठेक्का सम्झौता भइसकेको छ भने ३७९ किलोमिटर प्रसारण लाइनका लागि यस वर्ष बोलपत्र आव्हान गर्ने तयारी भइरहेको थियो ।
यस्तै, १० जिल्लामा ८५६ वटा प्रसारण टावरका जग निर्माणका लागि जग्गा प्राप्ति, दुई वर्षे जिविकोपार्जन कार्यक्रममार्फत् २७० जनालाई तालिम, ९ जिल्लामा मुआब्जा निर्धारण वितरण समिति गठन, धादिङ, मकवानपुर र नवलपरासीमा मुआब्जा निर्धारण र ९ जिल्लामा पहिलो भरणको रुख गणना कार्य सम्पन्न भएको बताइएको छ ।
अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो । अमेरिकाको ५०० मिलिअन डलर र नेपालको १९७ मिलिअन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो ।