काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका कार्यकालमा भएका तथा प्राधिकरणको वर्तमान अवस्था देखाउने गरी तयार पारिएको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ । प्राधिकरणले प्राविधिक कारण देखाउँदै श्वेतपत्र स्थगित गरेको हो ।
निवर्तमान कार्यकारी निर्देशक घिसिङले काम नै नगरेको देखाउने गरी तथ्यांक सबै तोडमोड गरेर तयार पारिएको श्वेतपत्र स्थगित भएको स्रोतले जानकारी दिएको छ । ‘कुलमानलाई कमजोर देखाउन नसकिने भएपछि प्राविधिक कारण देखाउँदै श्वेतपत्र स्थगित भएको छ,’ स्रोत ऊर्जा संचारसँग भने, ‘प्राधिकरणमा रकम अभाव भनिएको छ तर, कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तयार पारेको श्वेतपत्रमै प्राधिकरणको तीन वटा खातामा १० अर्ब बढी रकम मौज्दात देखिएको छ । प्राधिकरणको जगेडा रकम हुँदाहुँदै सोही परिमाणभन्दा कम रकम ऋण लिने भन्नुको अर्थ छैन । सकेसम्म अब यो श्वेतपत्र आउँदैन होला ।’
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले कुलमानलाई गलत देखाउन देशभर पुगेको विद्युत् पहुँचको तथ्यांक समेत लुकाएको स्रोतले जानकारी दिएको छ । शाक्यले जारी गरेको श्वेतपत्रमा प्राधिकरणको तर्फबाट विद्युत् पहुँच ९७.५ प्रतिशत पालिकामा र ९५ प्रतिशत वडाहरूमा पुगेको उल्लेख छ । उनले घरपरिवारमा पुगेको पहुँच भने कम देखाउने प्रयत्न गरेका छन् । घर संरचनाका आधारमा ९१.४१ प्रतिशत र परिवार संख्याका आधारमा ८४.६२ प्रतिशत जनसंख्यामा मात्रै प्राधिकरणको विद्युत् पुगेको तथ्यांक श्वेतपत्रमा उल्लेख छ ।
शाक्यले श्वेतपत्र तयार गर्दा अर्थ मन्त्रालयले प्रकाशन गरेको आर्थिक सर्वेक्षणको तथ्यांकलाई नै बेवास्ता गरेको स्रोतले दाबी छ । विश्व बैंक लगायतका निकायले समेत आधिकारिक रुपमा स्वीकार गर्दै आएको नेपालको कुल विद्युतीकरण ९९ प्रतिशतलाई कम देखाइएको छ ।
श्वेतपत्रमा विद्युत् चुहावट दर पनि १४.८५ प्रतिशत रहेको उल्लेख छ । तर, कुलमानले विद्युत् चुहावट १२.७३ प्रतिशतमा झारेको दाबी गरेका थिए ।
महालेखापरीक्षक र ठूला करदाता कार्यालयले तय गरेको वित्तीय विवरणलाइ ताेडमाेड गरेर श्वेतपत्र तयार पारिएपछि श्वेतपत्र सार्वजनिक नभएकाे स्राेतले ऊर्जा संचारसँग भन्याे । स्राेतका अनुसार यही कारण प्राधिकरणका अर्थ निर्देशनालयका कर्मचारीले हस्ताक्षर गर्न नमानेपछि श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित हुन पुग्याे ।
के छ श्वेतपत्रमाः प्राधिकरणको खातामा १० अर्ब बढी मौज्दात
नेपाल विद्युत् प्राधिकरणको विभिन्न तीन वटा खातामा १० अर्ब १० करोड रुपैयाँ मौज्दात रहेको छ । श्वेतपत्रअनुसार विभिन्न खातामा उक्त परिमाणको रकम मौज्दात देखिएको छ । प्राधिकरणको डलर–नेरु मुद्दती खातामा ३ अर्ब ६८ करोड, धरौटी खातामा ३ अर्ब ९५ करोड र चालू खातामा २ अर्ब ४७ करोड रुपैयाँ मौज्दात रहेको श्वेतपत्रमा उल्लेख छ ।
प्राधिकरणको कार्यकारी निर्देशक शाक्यले नगद अभाव रहेको, ठेकेदारको भुक्तानी र सहायक कम्पनीको सेयर खरिद गरेबापत भुक्तानी दिन भन्दै करिब १० अर्ब ऋण लिनुपर्ने बाध्यता रहेको बताएका थिए । तर श्वेतपत्रमै १० अर्ब रुपैयाँ बढी मौज्दात रहेको उल्लेख छ ।
ठेक्कापट्टामा ११ अर्ब ६१ करोडको भुक्तानी दायित्व
श्वेतपत्रमा चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व देखाइएको छ । उक्त रकमको भुक्तानी दिन नसकिएको उल्लेख छ । जसका लागि प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया समेत अघि बढाएको छ ।
आव २०८०/८१ सम्म कर्मचारीतर्फको अल्पकालीन तथा दीर्घकालीन दायित्व वापत ४७ अर्ब २४ करोड र धरौटी वापत २४ अर्ब ११ करोड दायित्व रहेको छ । नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब र टनकपुर विद्युत् वापत ३ अर्ब रुपैयाँ गरी ३२.५ अर्ब दायित्व बाँकी छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब छ । नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड, नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड गरी २ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड रूपैयाँ छ । प्राधिकरणविरूद्ध अर्धन्यायिक तथा न्यायिक निकायमा विचाराधीन दाबी रकमसहितका मुद्दाको सम्भावित दायित्व ८ अर्ब ४० करोड रूपैयाँ पुगेको छ । सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवर्द्धन लागि कुल ४१ अर्ब १३ करोड बराबर संस्थागत जमानत प्रदान गरेको छ ।
आव २०८१/८२ को लागि प्राधिकरणको प्रक्षेपित आयको स्रोत १ खर्ब ९९ अर्ब २ करोड रहेको छ । तर, २०८१/८२ को स्वीकृत बजेट खर्च २ खर्ब २८ अर्ब ७७ करोड रहेको छ । उक्त बजेट घाटा २९ अर्ब ७५ करोड परिपूर्ति गर्न १४ अर्ब ६५ करोड नेपाल सरकारबाट विगतका वर्षहरूको शोधभर्ना पाउनुपर्ने, ८ अर्ब २६ करोड डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता असुलीबाट पाउने र बाँकी १० अर्ब बराबरको ऋणपत्र जारी गरी परिपूर्ति गर्नेगरी बजेटमा नगद प्रवाहको अनुमान रहेको थियो ।
२०८१ फागुनसम्म डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता ४४ अर्ब ५४ करोड बक्यौता बाँकी छ । नेपाल सरकारबाट कोभिड छुट, चिस्यान केन्द्र लगायत शीर्षकमा दिइएको छुटवापत १४ अर्ब १० करोड शोधभर्ना प्राप्त गर्न बाँकी छ । यसैगरी, १२ अर्ब ४९ करोड नियमीत तर्फको बक्यौता रहेको छ ।
नाफा/नोक्सान
श्वेतपत्रमा आर्थिक वर्ष (आव) २०८०/८१ सम्म कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म नाफा ९ अर्ब ४८ रुपैयाँ करोड छ । श्वेतपत्रमा उच्च ह्रासकट्टीको दाबीसहितको नाफा/नोक्सान गर्दा कुल ५ अर्ब २६ करोडको नोक्सानी देखाइएको छ ।
यसैगरी, कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब छ । जसमा स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेकामा पुनर्मूल्याङ्कनबाट करिब ९९ अर्ब ४६ करोड थप भएको उल्लेख छ ।
नेपाल सरकारको प्राधिकरणमा २ खर्ब ६ अर्ब ७४ करोड सेयर लगानी रहेको उल्लेख छ । संचित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको श्वेतपत्रमा उल्लेख छ ।








