Thursday, March 12, 2026
spot_img

५३.५ मेगावाटकाे माथिल्लो म्याग्दी–१ काे सुरुङ खन्न थालियाे

spot_img

Share

spot_img

काठमाडाैँ । निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्‌गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो ।

यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सुरुङ खन्ने काम भइरहेको छ । अडिटतर्फबाट निर्माण भइरहेको सुरुङ र आउटलेटबाट सुरु भएको सुरुङ १८६५ मिटर लामो हुने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । उनका अनुसार, यस आयोजनामा बाँधबाट विद्युत्गृहसम्म पाँच किलोमिटर ७०० मिटर सुरुङ निर्माण हुनेछ ।

म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले धवलागिरि–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले निर्माणस्थलमा पर्याप्त मात्रामा जनशक्ति निर्माण सामग्री र उपकरणको बन्दोबस्त मिलाएको आयोजना प्रमुख केसीले जानकारी दिए । विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत्‌गृह  निर्माणको कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।

छहरीको १९८.९० लामो अडिट सुरुङ, बाँधतर्फबाट सुरु गरिएको ७६.५४ लामो सुरुङ र अडिटबाट थप एक किलोमिटर २७०.६७ मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ । आयोजनाको बाँधस्थलतर्फ २० प्रतिशत भौतिक प्रगति भएको छ ।

सानिमा बैंकको नेतृत्वमा छवटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख लगानीमा निर्माण हुने आयोजनाको विद्युत्‌गृह मालिका–७ भारवाङमा रहनेछ ।

भारवाङबाट एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सबस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिने छ । रासस

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img