काठमाडाैँ । नेपालले तेस्रो मुलुक बंगलादेशमा यस वर्षकाे पहिलाेपटक व्यावसायिक रुपमा विद्युत निर्यात थालेको छ । विद्युत् उत्पादनकाे प्रचुर सम्भावना बाेलेकाे मुलुक नेपालले असार १ गते देखि बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात थालेकाे हाे ।
बंगलादेशमा विद्युत बिर्की गर्दै नेपालको ऊर्जा क्षेत्रले महत्वपूर्ण फड्को मारेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले बताए । मन्त्रालयका अनुसार पाँच महिनाको अवधिमा (जुन १५ देखि नोभेम्बर १५ सम्म) नेपालले बंगलादेशमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत आपूर्ति गर्नेछ । यसवापत नेपालले ९४ लाख अमेरिकी डलर अर्थात् करीब एक अर्ब २९ करोड नेपाली रुपैयाँ आम्दानी गर्नेछ । गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण लाईन हुँदै बंगलादेश विद्युत निर्यात गरेको थियाे ।
मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत निर्यात गरि मासिक २५ करोड भन्दा बढी आम्दानी गरि पाँच महिनामा एक अर्ब २९ करोड भन्दा बढी आम्दानी हुने बताए ।
त्रिपक्षीय सहकार्यअन्तर्गत २०८१ असोज १७ गते भारत, बंगलादेश र नेपालबीच विद्युत व्यापारको सम्झौता भएको थियो । ऊर्जा मन्त्री दीपक खड्काको उपस्थितिमा भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा सल्लाहकार मोहमद फोजुल किवर खानबीच ४० मेगावाट विद्युत बिक्री सम्झौता भएको हो ।
दक्षिण एसियाबाट तेस्रो मुलुक विजुली निर्यात गर्ने पहिलो देश नेपाल भएको र बंगलादेशसँग पहिलो पटक विद्युत ब्यवसायिक रुपमा विक्री सुरु हुनु देश र जनताको लागि निकै गर्व र खुसीको कुरा भएको मन्त्री खड्का भनाई छ ।
बंगलादेशमा निर्यात भईरहेको विद्युत ४०० केभी प्रसारण लाइनमार्फत ढल्केबर–मुजफ्फरपुर–वेहरामपुर हुँदै भेडामारा (बंगलादेश) सम्म पुग्ने छ । निर्यात हुने विद्युतमध्ये १८.६० मेगावाट त्रिशुली जलविद्युत आयोजनाबाट र २१.४० मेगावाट चिलिमे जलविद्युत आयोजनाबाट उत्पादन गरिएको हो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा विद्युत बिक्री गर्दैछ।
यससँगै नेपालले भारतमा पनि विद्युत निर्यात विस्तार गरेको छ । जुन १ (जेठ १८) देखि हरियाणा राज्यमा १८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले जेठ ३१ देखि २०० मेगावाट पुर्याएको छ। यस्तै, जुन १५ (असार १) बाट बिहार राज्यमा पनि ८० मेगावाट विद्युत निर्यात सुरु गरिएको छ।
सरकारले सार्वजनिक गरेको ऊर्जा विकास मार्गचित्रअनुसार नेपालले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । यसमध्ये भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने योजना छ । ऊर्जा निर्यातको शुरुवातसँगै नेपालले ऊर्जा क्षेत्रलाई समृद्धिको मूल आधार बनाउने दिशामा ठोस पाइला चालेको मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल उर्जा ब्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र वंगलादेशमा विजुली निर्यात गरि अर्बौ आम्दानी गर्ने बताए । उनले भने “अहिले लोडसेडिङ छैन र हुँदैन पनि । उत्पादित विजुली बढी भएरै बिक्री सुरु गरिएको भन्दै ट्रिपिङको समस्या कहिलेकाँही देखिएर झ्याप झ्याप बत्ति जाने गरेपनि यसलाई हटाउदै लगिएको छ ।”
विगतका बर्षहरुमा पनि प्राविधिक कारणले ट्रिपिङको समस्या रहेको र गतबर्ष भन्दा अहिले क्रमश कम हुँदै गएकोले लोडेसेडिङ भन्ने भ्रम नपाल्न उहाँले आग्रह समेत गरे । आइतबार अर्थात आजदेखि बङ्गलादेशमा निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म बिक्रि गरिनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ ।
उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ । त्यस्तै नेपालले जून १ देखि हरियाणा राज्यमा १ सय ८५ मेगावाट विद्युत निर्यात गर्दै आएकोमा आइतबार अर्थात जून १५ बाट बढाएर २ सय मेगावाट विक्रि गरेको छ । त्यस्तै विहारमा पनि ८० मेगावाट विद्युत आइतबाटै निर्यात सुरु गरेको छ ।