काठमाडाैँ । रसुवाको भोटेकोसी नदीमा आएको ठूलो बाढी पहिरोले २५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ । बाढीले त्रिशुली कोरिडोरमा सञ्चालनमा रहेको विद्युत् आयोजना प्रभावित भएका छन् ।
असार २४ गते नदीमा आएको बाढीले रसुवागढी, चिमिले, त्रिशुली ३ ‘ए’, त्रिशुली ३ ‘बी’, देविघाट लगायतका आयोजनामा ठूलो क्षति पुर्याएको छ ।
बाढीले रसुवागढीको हेडवर्क्समा पूर्ण रुपमा क्षति पुर्याएको छ । चिलिमेको टेलरेसबाट पानी छिरेको, त्रिशुली ३‘ए’ को ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ ।
त्रिशुली ३‘बी’ हब सबस्टेुनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्रै छिरेको प्राधिकरणले जानकारी दिएको छ । हालसम्म १३२ केभी प्रसारण लाइनको ‘वे’ लगायतका संरचनामा क्षति पुर्याएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य तथा प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक राजन ढकालसहितको उच्च स्तरीय प्राविधिक टोलीले बाढीले क्षतिग्रस्त क्षेत्रमा निरीक्षण अनुगमन गरेका छन् ।








