काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाईमा निर्माण सम्पन्न १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिरहेका छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सिन्धुपाल्चोकमा निर्माण सम्पन्न गरेको आयोजना अन्तिम चरणमा पुगेको छ ।
चिलिमे जलविद्युत् कम्पनीले सार्वजनिक गरेको वित्तीय वितरण अनुसार मध्य भोटेकोशीले एक/दुई दिन भित्रै उत्पादन सुरु गर्नेछ । तर, अहिले आयोजनाको सुरुङबाट पानी चुहिएर बस्ती जोखिममा परेको भन्दै स्थानीयहरूले खबरदारी गरेका छन् । स्थानीय, क्लब, वन समिति लगायतले आयोजनाको अधिकारीसँग जोमिखबारे ध्यानाकर्षण गराएका छन् ।
आयोजनाको बोर्डरल्यान्डस्थित मुख्य सुरुङ र संरचनाबाहिर पानी चुहावट भएर बग्दा बस्ती नै भास्सिँदै जान थालेको प्रभावित बासिन्दाहरू बताउँछन् । अहिले पानी चुहिएकै ठाउँमा यसअघि २०८० पुसमा पहिलोपटक पानी चुहिएको थियाे । त्यसपश्चात आयोजनाले करिब ९ महिना समय लगाएर यसको मर्मत संभार गरेको थियो । फेरि दोस्रो पटक २०८१ सालमा पनि त्यही स्थानबाट पानी चुहिँदा रेट्रोफिटीङ प्रविधि अपनाएर सुरुङ मर्मत भएको थियो ।
अहिले पुनः त्यही बोर्डरल्यान्टबाटै पानी चुहिएकोले स्थानीयहरूले ध्यानाकर्षण गराएका छन् । विज्ञ र विशेषज्ञद्धारा निरीक्षण गरेर सुरुङ मर्मतसम्भार गरिनुपर्ने, मानव, जग्गा, जमिन र घरसम्पत्तिको (क) वर्गको बिमा हुनुपर्ने, वडालाई सामुदायिक उत्तरदायित्वका बजेट उपलब्ध गराउनुपर्नेजस्ता माग स्थानीयले राखेका छन् ।
कम्पनीले भने सुरुङमा केही समस्या नभएको जानकारी दिएको छ । सुरुङ आसपास र माथिल्लो भेगमा रहेको बस्तीलाई कुनै जोखिम नरहेको निमित्त प्रमुख सुदीप जोशीले जानकारी दिए । बर्खाको बेला भएको कारण केही ठाउँमा पहिरो खसेको हुन सक्ने र आयोजनाकै कारण समस्या नभएको कम्पनीको दाबी छ ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रो पावर कं. लि.को १, नेपाल अरनिको हाइड्रो पावर कम्पनी लि.को १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.को १ र सिन्धु भोटेकोशी हाइड्रो पावर लि.को १ प्रतिशत सेयर रहेको छ ।
४९ प्रतिशत साधारण शेयरधनी समुहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर रहेका छन् । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।
आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।








