Monday, March 9, 2026
spot_img

ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीर

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले देशको विकास–निर्माणलाई अवरोध गर्ने, सानोतिनो बहाना बनाएर मुद्दा हाल्ने, स्टे अर्ड लिने प्रवृत्तिलाई कानूनी रूपमा निस्तेज गर्न जरुरी भएको बताए । उनका अनुसार विकास विरोधी र देश विरोधी गतिविधिले मुद्दालाई लामो समयसम्म नटुङ्ग्याइदिँदा ठूला विकासका योजना सुरु हुनै नसक्ने अवस्था बनेको छ, जसलाई कानूनी ढङ्गले समाधान गर्न सरकार प्रतिबद्ध रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को पूर्वसन्ध्यामा आइतबार ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माणमा सरकार गम्भीर भएर लागेको बताए ।

“संविधान निर्माणपछि कानून निर्माणको चरणमा छौँ, जुन गतिमा कानून निर्माण हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन, ऊर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको छ,”- उनले भने ।

मन्त्री खड्काले मुलुक सङ्घीयतामा गएपछि सबै प्रदेशले आफ्ना प्रदेशलाई सशक्त बनाउन चासो देखाउनु सकारात्मक पक्ष भएको बताए । उनले भने, “सरकारले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको आर्थिक विकासमा अगाडि बढेको छ, विकास निर्माणका क्रममा अवरोध रहेका कानूनलाई समयअनुसार संशोधन गर्दै अगाडि बढेको अवस्था छ ।”

ऊर्जामन्त्री खड्काले विकास निर्माणलाई अगाडि बढाउन सङ्घ र प्रदेश सरकारबीच बनेका कानूनबीच तालमेल हुनु जरुरी रहेको उल्लेख गरे । जलविद्युत निर्माणका क्रममा वन र जग्गाप्राप्तीको समस्या रहेको भन्दै उनले यसलाई समाधान गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

“विकास निर्माणका क्रममा देखिने समस्या कानूनी ढङ्गले नै समाधान गर्नुपर्छ,”– उनले स्पष्ट पारे । उनका अनुसार मुलुकमा भएको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै समृद्ध नेपाल निर्माणमा सरकार लागिपरेको छ र मन्त्रालयले ऊर्जा क्षेत्रमा थुप्रै नीतिगत निर्णय गरेर अगाडि बढ्ने तयारी गरेको छ ।

उनले विद्युत क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत खरीद–विक्रीसम्म गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए । सरकारले नीतिगत रुपमा आक्रामक ढङ्गले काम गरिरहेको उनको भनाइ थियो ।

यसैक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गरिएको भन्दै सबैलाई उक्त सम्मेलनमा जोडिन आग्रह गरे । उनले भने, “लगानी सम्मेलन लगानीमा मात्र सीमित नभई प्रदेशलाई रोजगारी र उत्पादनमूलक विकासतर्फ लैजाने ऐतिहासिक प्रयास हो, जसलाई सफल बनाउन केन्द्र सरकारको साथ आवश्यक छ ।”

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. कमल पोखरेलले प्रदेशमा अपार सम्भावना भएको जनाउँदै स्रोत साधनको समुचित प्रयोगमार्फत समृद्ध प्रदेश बनाउन सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

धनगढीको सिटी हलमा दुई दिनसम्म चल्ने सम्मेलनमा उद्घाटन सत्रका साथै विकास निर्माण र लगानीका सम्भावनाबारे विभिन्न बैठक र सम्झौता हुने कार्यक्रम तय गरिएको छ ।

विद्युत विकास विभागका महानिर्देशक जीवछ मण्डलका अनुसार सुदूरपश्चिम प्रदेशमा हाल ८ हजार २४१ मेगावाट क्षमताका १०८ जलविद्युत आयोजना कुनै न कुनै चरणमा अगाडि बढिरहेका छन् । छलफलमा सहभागी ऊर्जा क्षेत्रका कम्पनीहरूले प्रसारण लाइन, जग्गा प्राप्ती र वनसम्बन्धी अवरोधलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेका थिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img