काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीहरूले गठन गरेको ‘नेपाल विद्युत् प्राधिकरण ऊर्जाशील कर्मचारी संघ’ अब नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ट्रेड युनियन ऐन, २०४९ को दफा ३ को उपदफा (३) बमोजिम विधिवत रूपमा दर्ता भएको छ ।
इन्द्रप्रसाद न्यौपानेको संयोजकत्वमा गठन भएको संघको तदर्थ समितिमा गजेन्द्र सिंह थापा र सहदेव थापा संस्थापक सल्लाहकारका रूपमा रहेका छन् । त्यस्तै, महेश्वरदत्त पनेरु सह–संयोजक र अन्य ४७ जना कर्मचारी सदस्य रहेका छन् ।

यसअघि नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघमा आवद्ध रहेका यी सदस्यले गत साउन २७ गते सामूहिक रूपमा राजीनामा दिएका थिए । संघको नेतृत्व तानाशाही शैलीमा अघि बढेको, सामूहिक हितका मुद्दा छाडेर व्यक्तिगत लाभमा केन्द्रित भएको र संगठनभित्र आन्तरिक गुटबन्दी बढाएको आरोप लगाउँदै उनीहरूले साधारण सदस्यतासमेत त्यागेका थिए ।

अब दर्ता प्रक्रियासम्पन्न भएसँगै ‘ऊर्जाशील कर्मचारी संघ’ले प्राधिकरणभित्र कर्मचारीका हक–हित र संस्थागत सुधारका एजेन्डा लिएर औपचारिक रूपमा क्रियाशील हुने बताइएको छ ।













