काठमाडौँ । संखुवासभाको १०६३ मेगावाट क्षमताको माथिल्लो अरुण आंशिक जलाशययुक्त जलविद्युत् आयोजना अब स्वदेशी लगानीमै निर्माण गर्ने तयारी अघि बढाइएको छ । विश्व बैंकले झन्डै एक वर्षदेखि लगानीबारे कुनै प्रतिक्रिया नदिएपछि आयोजनाको प्रवर्द्धक अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीले स्वदेशी लगानी मोडालिटी तय गर्ने जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीलाई दिएको हो ।
यस सम्बन्धमा भएको समझदारीपत्रमा अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पौडेल र एनइए इन्जिनियरिङका कार्यकारी अधिकृत चिरन टन विक्रम राणाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार एनइए इन्जिनियरिङलाई आयोजनाको लगानी संरचना र स्वदेशी लगानीबाट निर्माण सम्भावनाबारे विस्तृत अध्ययन गरी सुझाव दिने जिम्मेवारी दिइएको छ ।
माथिल्लो अरुण आयोजना निर्माणमा २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको प्रारम्भिक तयारीका रूपमा २ किलोमिटर सुरुङमार्ग र करिब २१ किलोमिटर लामो पहुँच सडक निर्माणका लागि निर्माण कम्पनी कन्काइ इन्टरनेसनल बिल्डर्स र भारतको गायत्री प्रोजेक्ट्स जेभीलाई ठेक्का दिइसकिएको छ । आयोजनाका लागि आवश्यक २ हजार २५ हेक्टर निजी जग्गा अधिग्रहण प्रक्रिया पनि सुरु भइसकेको छ ।
हिउँद याममा विद्युत् माग बढी हुने अवधिलाई लक्षित गर्दै आयोजना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन हुने गरी डिजाइन गरिएको छ । आयोजना वार्षिक ४ अर्ब ५१ करोड युनिट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ ।
उत्पादित विद्युत् ४०० केभी क्षमताको करिब ६ किलोमिटर लामो प्रसारण लाइनमार्फत संखुवासभाको हाइटार सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ ।











