काठमाडाैँ । नबिल बैंकले कर्पोरेट तथा व्यवसायिक संस्थाहरूलाई लक्षित गर्दै नयाँ ‘नबिल सस्टेनेबल सोलार इनर्जी लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार, यस योजनामा १०० प्रतिशतसम्म परियोजना लागत वित्तीय व्यवस्था (फाइनान्सिङ) उपलब्ध हुनेछ ।
सौर्य ऊर्जामा लगानी बढाउँदै दीर्घकालीन ऊर्जा स्रोततर्फ व्यवसायलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले आकर्षक ब्याजदरमा ऋण सुविधा उपलब्ध गराउने जनाएको छ । साथै, ग्राहकलाई राहत हुनेगरी लोन एडमिनिस्ट्रेसन फीस (LAF) मा ०.५ प्रतिशत छुट पनि प्रदान गरिएको छ ।
सौर्य प्रणाली जडान गर्न चाहने उद्योग तथा व्यवसायिक घरानाहरूका लागि यो ऋण सुविधा परियोजना–आधारित (Project Based Financing) मोडेलमा उपलब्ध हुनेछ । बैंकले सौर्य ऊर्जामा लगानी बढ्दै गएसँगै व्यावसायिक बजारमा ऊर्जा लागत घटाउने र वातावरणमैत्री प्रविधिको उपयोग बढाउने अपेक्षा राखेको छ ।
नबिल बैंकका अनुसार यो ऋण सुविधा प्राप्त गर्न इच्छुकले बैंकका निकटतम शाखामा वा ग्राहक सेवा केन्द्रमार्फत थप जानकारी लिन सक्नेछन् ।








