Tuesday, July 28, 2026
spot_img

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत

spot_img

Share

spot_img

काठमाडाैँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको समग्र भौतिक प्रगति हाल ७० प्रतिशत पुगेको छ। आयोजना व्यवस्थापनका अनुसार बाँध, सुरुङ, विद्युत्गृह तथा प्रसारण लाइन निर्माण कार्य उल्लेखनीय रूपमा अघि बढेको छ।

आइतबार आयोजनास्थलको स्थलगत निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले आयोजनाको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै बाँकी काम तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न निर्देशन दिए । उनले निर्माणमा कुनै ढिलाइ हुन नदिन र देखिएका समस्या तत्काल समाधान गर्दै कामलाई तीव्रताका साथ अघि बढाउन आग्रह गरे ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँधसहितका संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ । डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग उत्खनन, स्लोप निर्माण तथा प्रवेश सडक स्तरोन्नतिको काम भइरहेका छन् । हालसम्म बाँधको उचाइ २० मिटर पुगेको छ ।

दोस्रो प्याकेज अन्तर्गत सुरुङ, विद्युत्गृह तथा हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल उपकरणको आपूर्ति, जडान र सञ्चालनको काम सिनो हाइड्रो (चीन) ले गरिरहेको छ । तेस्रो प्याकेज अन्तर्गत दमौलीदेखि चितवनको भरतपुरसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको जिम्मा केइसी मारतले लिएको छ ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसमा एशियाली विकास बैंक, जाइका, युरोपेली लगानी बैंक तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ ।

मन्त्री घिसिङले आयोजना समयमै सम्पन्न भएमा ऊर्जा उत्पादन वृद्धि, विद्युत् आपूर्ति सुदृढीकरण र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने उल्लेख गरे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img