Wednesday, May 20, 2026
spot_img

नेपाल-कोरिया ऊर्जा सहकार्य सेमिनारः हरित ऊर्जामा लगानी विस्तारको आह्वान

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल र दक्षिण कोरियाबीच ऊर्जा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार २०२५ सम्पन्न भएको छ । सेमिनारमा नेपाल सरकारले कोरियाली निजी क्षेत्रलाई जलविद्युत्, प्रसारण पूर्वाधार तथा भविष्यका हरित ऊर्जामा लगानी गर्न आह्वान गरेको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले ५ दशकभन्दा लामो नेपाल कोरिया कूटनीतिक सम्बन्धलाई अब रणनीतिक लगानी र निजी क्षेत्रको सक्रिय सहभागितामा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताए ।

स्वच्छ ऊर्जा, जलविद्युत् विकास र सुदृढ प्रसारण पूर्वाधारलाई दुई देशबीचको सहकार्यको मुख्य आधारका रूपमा अघि सार्नुपर्ने बताउँदै सचिव चटौतले कोरियाली लगानीमा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनालाई सफल वैदेशिक प्रत्यक्ष लगानीको उदाहरण रहेको बताए ।

कोरियाली लगानीकर्ताका लागि ठूला जलविद्युत् आयोजना, उच्च क्षमताका प्रसारण लाइन र ग्रिड आधुनिकीकरण, साथै हरित हाइड्रोजनमा सहकार्य गर्नुपर्ने उनले बताए ।

नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले वातावरणीय प्रभाव मुल्यांकन, जग्गा अधिग्रहण, ग्रिड जडान तथा नाफा फिर्ता लैजाने प्रक्रियालाई क्रमशः सरल बनाइँदै गएको जानकारी दिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रमार्फत नेपाल–कोरिया ऊर्जा सहकार्यलाई ठोस लगानी र परियोजनामा रूपान्तरण गर्न आवश्यक रहेकाे बताए । उनले निजी क्षेत्रले नेपालमा उत्पादन भइरहेको करिब ३ हजार ८०० मेगावाटमध्ये ८० प्रतिशतभन्दा बढी विद्युत् उत्पादन गरिरहेको जानकारी दिए ।

उनका अनुसार हाल नेपालमा ८,५१६ मेगावाट क्षमताका जलविद्युत् तथा सौर्य आयोजना सञ्चालन, निर्माण र विकासका विभिन्न चरणमा छन् भने २०,००० मेगावाटभन्दा बढी क्षमताका आयोजना अगाडि बढिरहेका छन् । सरकारले आगामी १० वर्षमा भारत र बंगलादेशतर्फ १५,००० मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको सन्दर्भमा निजी क्षेत्र सरकारको मुख्य साझेदार हुने उनको भनाइ थियो ।

अध्यक्ष कार्कीले नेपाल र कोरियाबीच बी टु बी र जी टु जी मोडेलमार्फत विद्युत् उत्पादन तथा जलवायु अनुकूल पूर्वाधारमा लगानी सहकार्य विस्तार गर्न सकिने बताए ।

इप्पानका उपाध्यक्ष मोहन डाँगीले नेपाल–कोरिया सम्बन्ध आपसी विश्वास र सहकार्यमा आधारित रहेको बताए । उनले नेपाल अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका भएकाले वर्षायाममा खेर जाने विद्युत् हरित हाइड्रोजन उत्पादनमा उपयोग गर्न सकिने सम्भावना रहेको बताए, जसले ग्रिड सन्तुलन र ऊर्जा भण्डारणमा समेत सहयोग पुग्नेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img