काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी प्रसारण लाइन निर्माण अघि बढाएको छ । यसका लागि प्राधिकरणले प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयार गर्न सार्वजनिक सूचना जारी गरेको छ । सूचना वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम प्रकाशित गरिएको हो ।
यो प्रसारण लाइन लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र दाङ हुँदै जाने प्रस्ताव गरिएको छ । कुल झण्डै १११ किलोमिटर लम्बाइमा लाइन र विभिन्न स्थानमा टावर तथा सबस्टेशन निर्माण गरिनेछ ।
प्राधिकरणका अनुसार प्रसारण लाइन निर्माणका क्रममा पर्न सक्ने प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रभावको पहिचान र मूल्यांकन गरेर प्रतिवेदन तयार गरिनेछ ।
सूचनाअनुसार प्रभावित हुन सक्ने स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था र सरोकारवाला व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि सात दिनभित्र आफ्नो राय, सुझाव वा गुनासो नेपाल विद्युत् प्राधिकरण वा परामर्शदातालाई बुझाउन सक्नेछन् ।
प्राधिकरणले आउने सुझावलाई वातावरणीय अध्ययनमा समेटी परियोजना कार्यान्वयन पारदर्शी र प्रभावकारी बनाइने जनाएको छ ।








