Sunday, April 19, 2026
spot_img

‘इनर्जी ह्याकाथन ९.०’: ऊर्जा क्षेत्रका समस्यामा विद्यार्थीको नवप्रवर्तनात्मक समाधान

spot_img

Share

spot_img

काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको संस्था लोकस (LOCUS) ले ९औँ संस्करणको ‘इनर्जी ह्याकाथन ९.०’ सफलतापूर्वक सम्पन्न गरेको छ । २२औँ राष्ट्रिय प्राविधिक महोत्सव लोकस २०२६ को पूर्व–कार्यक्रमका रूपमा आयोजना गरिएको यो ह्याकाथन बुधबार, माघ ७ गते सम्पन्न भएको हो ।

ह्याकाथनमा देशभरका विद्यार्थी समूहहरूले ऊर्जाका लागि कृत्रिम बुद्धिमत्ता (AI for Energy Alternative Energy), वैकल्पिक ऊर्जा (Alternative Energy), माग व्यवस्थापन (Demand-Side Management) तथा ऊर्जा दक्षता (Energy Efficiency) गरी चारवटा मुख्य विधामा आफ्ना नवप्रवर्तनात्मक अवधारणा र समाधान प्रस्तुत गरेका थिए ।

कार्यक्रमका निर्णायक (Judge) मण्डलमा प्रो. डा. इन्द्रमान ताम्रकार, नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणा, कृष्णम इन्जिनियरिङ सोलुसन प्रा.लि.की प्रबन्ध निर्देशक डा. शान्ति कला सुवेदी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिनियर केशव प्रधानाङ्गा रहेका थिए ।

सहभागी विद्यार्थीहरूले नेपालमा फ्लोटिङ सोलार परियोजनाको सम्भाव्यता, स्मार्ट सडक बत्ती, ऊर्जा बचत प्रविधि, डेटा–आधारित माग व्यवस्थापन जस्ता विषयमा व्यावहारिक र प्राविधिक समाधान प्रस्तुत गरेका थिए । यी समाधानहरूले नेपालको ऊर्जा प्रणालीलाई थप दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन सक्ने सम्भावना देखिएको आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा प्रत्येक विधाबाट प्रथम हुने समूहलाई २५–२५ हजार रुपैयाँका दरले कुल एक लाख रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

ऊर्जा क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान खोज्ने उद्देश्यले आयोजना गरिएको यस ह्याकाथनबाट विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यवहारिक सोच उजागर भएको आयोजक लोकसले जनाएको छ । साथै, यस्ता कार्यक्रममा प्रस्तुत भएका समाधानहरू उपयोगी देखिएमा सम्बन्धित सरकारी तथा निजी निकायले तिनलाई नीतिगत तथा कार्यान्वयन तहमा लैजानुपर्ने आवश्यकता औँल्याइएको छ ।

यस्ता ह्याकाथनहरूले शैक्षिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्नुका साथै नेपालको ऊर्जा क्षेत्रमा नवप्रवर्तन, स्टार्टअप संस्कृति र अनुसन्धानलाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यमका रूपमा समेत लिइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img