Tuesday, April 21, 2026
spot_img

मर्मतसम्भारपछि ६९ मेगावाटको मर्स्याङ्दीबाट पुनः विद्युत् उत्पादन

spot_img

Share

spot_img

काठमाडाैँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाटकाे मर्स्याङ्दी जलविद्युत् केन्द्रमा गरिएको मर्मतसम्भार कार्य सम्पन्न भएसँगै पुनः विद्युत् उत्पादन सुरु गरिएको छ ।

करिब २१ दिनसम्म प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी गरिएका प्राविधिक तथा सिभिल संरचनासम्बन्धी जटिल कामहरू निर्धारित समयमै सम्पन्न भएपछि केन्द्रले उत्पादन पुनः सुरु गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरूमध्ये क्षमता र वार्षिक उत्पादनका हिसाबले महत्वपूर्ण मानिने यस केन्द्रले गत आर्थिक वर्षमा ४५१.७ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म केन्द्रले २९३.५ गिगावाट घण्टा विद्युत् उत्पादन गरिसकेको छ । केन्द्रको दीर्घकालीन सञ्चालनलाई सुरक्षित र प्रभावकारी बनाउन फागुन २ गतेदेखि प्लान्ट बन्द गरेर मर्मतसम्भार कार्य सुरु गरिएको थियो ।

केन्द्र प्रमुख कपिलदेव मानजनका अनुसार यसपटकको सटडाउन अवधिमा वर्षौँदेखि थाती रहेका तथा प्राविधिक रूपमा चुनौतीपूर्ण मानिएका धेरै काम सम्पन्न गरिएको छ । विशेषगरी बाँध क्षेत्रको माथिल्लो तटीय भाग र डिसेन्डर नजिक कटानका कारण जोखिममा परेको संरचनाको संरक्षण गरिएको छ ।

थै, विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचनाको मर्मत गरी पुनः सञ्चालन योग्य बनाइएको छ। सुरुङभित्र बालुवा प्रवेश हुन नदिन यो संरचना निकै महत्वपूर्ण मानिन्छ ।

यस अवधिमा मुख्य इन्टेक नजिक रहेको कम्पनसेटिङ पोखरीमा लामो समयदेखि थुप्रिएको बालुवा हटाउने कार्य पनि सम्पन्न गरिएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख मानजनका अनुसार लामो समयदेखि रोकिएका ठेक्का सम्झौतासम्बन्धी कार्यहरू तथा मेकानिकल मर्मतसम्भारलाई उच्च प्राथमिकतामा राखेर सम्पन्न गरिएको हो ।

विद्युत् गृहको युनिट नम्बर ३ को ओभरहलिङ कार्यमा केन्द्रकै कर्मचारीका साथै अन्य जलविद्युत् केन्द्रका प्राविधिकहरू समेत संलग्न गराइएको थियो ।

बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो । खोलाको बहाव न्यूनतम रहेको समयमा उत्पादनमा कम असर पर्ने गरी मर्मत योजना बनाइएको केन्द्रले जनाएको छ ।

तालुक कार्यालय, विभाग र निर्देशनालयको समन्वय तथा उच्च व्यवस्थापनको सहयोगका कारण वर्षौँदेखि रोकिएका महत्वपूर्ण सिभिल कार्यहरू सम्पन्न गर्न सफल भएको केन्द्रको भनाइ छ । सटडाउनकै अवधिमा विद्युत् गृहमा एलटी टाइप ब्रेकर परिवर्तनसहित आवश्यक इलेक्ट्रिकल र मेकानिकल मर्मतसम्भारका कामहरू पनि सम्पन्न गरिएको छ ।

केन्द्रका अनुसार हालको मर्मतसम्भारपछि विद्युत् उत्पादनको क्षमता अझ सुधार हुने र प्राविधिक जोखिम घट्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img