काठमाडाैँ । नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको १७औँ बैंठकले आगामी एक वर्षका लागि भारतबाट आयात गरिने विद्युत्को खरिद दर १.५ प्रतिशतले मात्र बढाउने सहमति गरेको छ । बैठकमा भारतीय पक्षले उत्पादन लागत बढेको भन्दै ५.५ प्रतिशत दर वृद्धि प्रस्ताव गरे पनि नेपाली पक्षले बजार सूचकाङ्कका आधारमा वृद्धि आवश्यक नरहेको तर्क गरेपछि अन्ततः १.५ प्रतिशत वृद्धि गर्ने सहमति भएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार नयाँ दरअनुसार १३२ केभी प्रसारण लाइनमार्फत आयात हुने विद्युत् प्रतियुनिट ८.२२ रुपैयाँ, ३३ केभीको ८.९१ रुपैयाँ र ११ केभीको ९.५५ रुपैयाँ कायम गरिएको छ ।
भारतका विहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट नेपालले विद्युत् आयात गर्ने सहमति भएको छ । यस निर्णयले चैत–वैशाखको सुख्खा मौसममा हुनसक्ने विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल नेपालले दैनिक करिब १२–१४ हजार मेगावाट घण्टा (५८३ मेगावाटसम्म) विद्युत् आयात गरिरहेको प्राधिकरणले जनाएको छ ।








