काठमाडाैँ । कालंगा हाइड्रो लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा बझांग, बैतडी र दार्चुलाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई चैत्र १० गतेदेखि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले स्थानीयलाई १४ लाख कित्ता शेयर निष्काशन गरेको छ । स्थानीयले आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा चैत्र २४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ । यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा चैत्र १५ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले बझांगमा १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।








