Friday, April 3, 2026
spot_img

तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइनका लागि रुखमा छपान सुरु, समग्र प्रगति तीव्र

spot_img

Share

spot_img

काठमाडाैँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि आवश्यक वन क्षेत्रका रुखहरूमा छपान कार्य सुरु गरिएको छ । प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारमा पर्ने चितवन जिल्लाको राष्ट्रिय वन क्षेत्रमा रहेका रुखहरू चिन्हांकन गर्न थालिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

प्रसारण लाइनका टावर निर्माण तथा मार्गधिकारभित्र पर्ने वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँका बोटबिरुवा हटाउन वन तथा भूसंरक्षण विभागसँग सम्झौता भइसकेको छ । सोहीअनुसार तनहुँ र चितवन जिल्लामा पर्ने करिब ९२.७ हेक्टर वन क्षेत्रको भोगाधिकार प्राप्त हुनुका साथै ९ हजार १२७ वटा रुख हटाउन अनुमति मिलेको छ ।

यस प्याकेजअन्तर्गत भारतको केइसी इन्टरनेशनल लिमिटेडले ३३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । कुल ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरको जग हाल्ने र ६९ वटा टावर जडान गर्ने काम सम्पन्न भइसकेको छ । समग्रमा यो प्याकेजको प्रगति करिब ७६ प्रतिशत पुगेको छ ।

आयोजनाको अन्य दुई प्याकेजमा पनि काम तीव्र गतिमा अगाडि बढिरहेको छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माणको जिम्मा सोङ्दा कालिका जेभीले लिएको छ, जहाँ हालसम्म ५४ प्रतिशत प्रगति भएको छ । मुख्य बाँधका लागि आवश्यक डाँडा कटान, पहुँच मार्ग, सेती नदीको धार परिवर्तनका लागि अस्थायी बाँध तथा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन् । सेती नदीलाई २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो भने २०८१ जेठसम्म अस्थायी बाँध निर्माण पनि पूरा भएको छ ।

त्यस्तै, प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा उपकरण जडानको काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । भूमिगत संरचना खन्ने काम सम्पन्न भइसकेको छ भने अधिकांश सिभिल निर्माण कार्य सकिएको छ। विद्युत्गृह, केवल सुरुङ, सर्ज ट्याङ्क र टेलरेस संरचनामा मुख्य कङ्क्रिटिङ कार्य पूरा भइसकेको छ । यस प्याकेजको प्रगति ७३ प्रतिशत पुगेको छ ।

हाल विद्युत्गृहको सिभिल निर्माण अन्तिम चरणमा पुगेको छ भने इलेक्ट्रोमेकानिकल जडान कार्य जारी छ। साथै छाना राख्ने र पानी निकाससम्बन्धी कामहरू पनि अघि बढिरहेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img