काठमाडाैँ । सङ्खुवासभामा निर्माणाधीन किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई हालसम्म १८ करोड रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ ।
जिल्लाको भोटखोला गाउँपालिका–२ क्षेत्रमा निर्माण भइरहेको ४५४ मेगावाट क्षमताको उक्त आयोजनाका लागि अधिग्रहण गरिएका जग्गाधनीलाई गत चैत ९ गतेदेखि मुआब्जा वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रशासकीय अधिकृत घाङ्री लामाका अनुसार प्रक्रिया सुरु भएसँगै वितरण कार्य तीव्र रूपमा अघि बढाइएको हो ।
आयोजनाका प्रबन्धक अशोक पण्डितकाअनुसार हालसम्म २६ जना जग्गाधनीले करिब १८ करोड रुपैयाँ मुआब्जा बुझिसकेका छन् । आयोजनाबाट प्रभावित स्थानीयलाई कुल करिब ४५ करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाको २०८२ पुस ८ गतेको बैठकले जग्गाको मूल्याङ्कन प्रतिरोपनी अधिकतम ६ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरेको थियो । आयोजना निर्माणका लागि साविक भोटखोला–१, ३, ४ र ६ नम्बर वडामा पर्ने करिब ७०० रोपनी जग्गा अधिग्रहण गरिएको छ, जसबाट करिब १५० घरधुरी प्रभावित भएका छन् ।
उक्त आयोजना विद्युत् उत्पादन कम्पनी लिमिटेड ले निर्माण गरिरहेको हो । भोटखोला–२ चेपुवामा रहेको अरुण नदीको पानी करिब ६ किलोमिटर लामो सुरुङमार्गमार्फत लिङ्गास्थित विद्युत्गृहमा पुर्याएर विद्युत् उत्पादन गरिनेछ ।
करिब ९३ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था गरिएको छ । निर्माण सुरु भएको मितिदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।








