काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लामा १०० मेगावाट क्षमताको ‘कुलेखानी–सिस्नेरी पम्प जलाशययुक्त जलविद्युत् आयोजना’ निर्माण प्रक्रिया अघि बढाएको छ । आयोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (EIA) को क्षेत्र निर्धारण कार्य सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा निर्माण हुने प्रस्तावित आयोजनाले हालको इन्द्रसरोवरलाई माथिल्लो जलाशयका रूपमा प्रयोग गर्नेछ । यहाँ संचित पानीलाई कुलेखानी खोलामा झारेर विद्युत् उत्पादन गरिने योजना छ ।
आयोजनाअनुसार इन्द्रसरोवरको बाँधभन्दा करिब ४ किलोमिटर तल राङ्चे नजिक कुलेखानी खोलामा ३६ मिटर अग्लो नयाँ बाँध निर्माण गरी तल्लो जलाशय बनाइनेछ, जसको भण्डारण क्षमता करिब १५ लाख ४० हजार घनमिटर रहनेछ ।
इन्द्रसरोवरबाट पानी झार्नका लागि वडा नम्बर २ अन्तर्गत कलंकी नजिक इन्टेक संरचना निर्माण गरिनेछ । त्यहाँबाट करिब १.९ किलोमिटर लामो सुरुङमार्फत पानीलाई लित्पानेस्थित प्रस्तावित विद्युत्गृहमा पुर्याइनेछ । उत्पादनपछि टेलरेसबाट निस्केको पानी तल्लो जलाशयमा संकलन गरिनेछ ।
यो आयोजना ‘पम्प स्टोरेज’ प्रविधिमा आधारित हुनेछ, जसअनुसार विद्युत् माग कम भएको समयमा तल्लो जलाशयमा संचित पानीलाई पुनः पम्प गरेर माथिल्लो जलाशयमा फर्काइनेछ । यसले ऊर्जा व्यवस्थापनलाई थप लचिलो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
आयोजनाले उच्च माग भएका समयमा दैनिक ६ देखि १० घण्टासम्म विद्युत् उत्पादन गर्नेछ । विद्युत्गृहमा ५०–५० मेगावाट क्षमताका दुई वटा टर्बाइन जडान गरिनेछ भने डिजाइन बहाव ६८.१२ घनमिटर प्रतिसेकेण्ड रहनेछ ।
प्राधिकरणका अनुसार आयोजनाबाट इन्द्रसरोवरको कुल भण्डारण क्षमतामा कुनै परिवर्तन आउने छैन । तर, दैनिक सञ्चालनका क्रममा जलस्तरमा अधिकतम २ मिटरसम्म उतारचढाव हुनेछ भने तल्लो जलाशयमा यो उतारचढाव २३.५ मिटरसम्म पुग्न सक्नेछ ।
ऊर्जा माग व्यवस्थापन र ‘पीक आवर’ मा विद्युत् आपूर्ति सुदृढ गर्न महत्वपूर्ण मानिएको यो आयोजना सम्पन्न भएपछि देशको ऊर्जा प्रणाली थप सन्तुलित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।








