काठमाडाैँ । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी अधिकृत सागर श्रेष्ठका अनुसार हुम्लाबाट सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोड्ने र कर्णाली करिडोरमार्फत डोल्पा, जाजरकोट र सुर्खेत हुँदै विद्युत् दोदोधरामा संकलन गर्ने तयारी गरिएको छ ।
पश्चिम सेती आयोजनाबाट उत्पादित विद्युत् दोदोधरासम्म ल्याउन छुट्टै कम्पनी स्थापना भइसकेको छ भने बेतन कर्णालीको विद्युत् समेत यही केन्द्रमा जोड्ने अर्को प्रसारणलाइन निर्माण प्रक्रियामा छ । यसरी दोदोधरालाई मुख्य हब बनाइएपछि त्यहाँबाट भारतको बरेलीसम्म विद्युत् निर्यात गर्न सहज र छोटो मार्ग तयार हुने अपेक्षा गरिएको छ ।
यी सबै प्रसारणलाइन निर्माणका लागि करिब १३० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । पश्चिम सेती–दोदोधरा ४०० केभी प्रसारणलाइन (१४५ किमी) बझाङ, डोटी र डडेलधुरा हुँदै कैलालीसम्म विस्तार हुने छ, जसको लागत झन्डै २० अर्ब रुपैयाँ छ । यस परियोजनामा २५०० मेगावाट क्षमतामध्ये हालसम्म ६०० मेगावाटका लागि बुकिङ भइसकेको छ ।
त्यसैगरी, कर्णाली करिडोर प्रसारणलाइन कालिकोटको फुकोटबाट सुरु भई बेतन कर्णाली हुँदै दोदोधरा पुग्नेछ। ९१ किमी लम्बाइको यो लाइनलाई भारतसँग जोड्न थप ३० किमी विस्तार गरिने योजना छ । करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको केही खण्डमा ठेक्का प्रक्रिया अघि बढिसकेको छ ।
कम्पनीका अनुसार ४०० केभीका करिब ४०२ किमी प्रसारणलाइन निर्माणका लागि मात्रै करिब ७० अर्ब रुपैयाँ आवश्यक पर्नेछ । तर, यस्ता ठूलो बजेटका आयोजनामा पर्याप्त लगानी अभाव मुख्य चुनौती बनेको छ। संघीय सरकारबाट सीमित बजेट विनियोजन हुँदा काम ढिलो भइरहेको बताउँदै प्रदेश र स्थानीय तहको सहलगानी आवश्यक रहेकोमा जोड दिइएको छ ।
यदि आगामी दिनमा करिब ८ हजार मेगावाट विद्युत् उत्पादन भई त्यसको आधा हिस्सा निर्यात गर्न सकिएमा नेपालले वार्षिक करिब ११२ अर्ब रुपैयाँ आम्दानी गर्न सक्ने अनुमान गरिएको छ ।








