Sunday, March 23, 2025
spot_img

पोखराकाे भूमिगत लाइनको ठेक्का अवधि सकियो, काम आधा पनि सकिएन

spot_img

Share

spot_img

पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत मात्रै भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणालीलाई भूमिगत गर्ने काम निराशाजनक रहेको जानकारी दिएको छ । भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्सले दुई वर्षभित्रमा काम सक्ने लक्ष्य राखेर विसं २०७८ माघमा उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले काम नसकेपछि आठ महिना ठेक्का म्याद थपिएको आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले बताए ।

‘निर्माण कम्पनीले पोखराको भौगर्भिक बनावटलगायत कारण देखाउँदै अपेक्षित रूपमा काम गरेको छैन,’ उनले भने, ‘आयोजनाका पेटी ठेकेदारले काम छाड्दै हिँड्न थालेपछि थप समस्या निम्तिएको छ । अहिलेको जस्तै सुस्त गतिमा काम भइरहे थपिएको समयावधिमा पनि आयोजना पूरा हुन मुस्किल हुने देखिन्छ ।

’आयोजना प्रमुख सुवेदीका अनुसार ठेक्का सम्झौता भएको १५ महिनापछि बल्ल निर्माण सुरु भएको थियो । आयोजना प्रगति न्यून देखिनुमा निर्माण कम्पनीको ढिलासुस्ती पनि एउटा कारण रहेको उनको बुझाइ छ । ‘सुरुमा इन्जिनियरिङ डिजाइन, उपकरण र निर्माण सामग्री खरिदमा केही समय लागेपनि निर्माण कम्पनीले सोचे जसरी काम देखाउन सकिरहेको छैन’ उनले भने ।

पोखराको चट्टानी जमिनका कारण आयोजनासँग पहिले भएको सुरुङ खन्ने उपकरणले काम नगरेपछि उच्च क्षमताको नयाँ उपकरण ल्याउनुपरेको बताए । अहिले आयोजनासँग सुरुङ खन्ने तीन उपकरण छन् । निर्माण कम्पनीले ५० जनाभन्दा बढी जनशक्तिलाई आयोजनामा खटाएको छ ।

पोखराका विभिन्न ठाउँमा तार भूमिगत गर्ने काम भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारअघिको सडकदेखि सेती पुलसम्म सुरुङ खन्ने र पाइप बिछ्याउने काम भइरहेको छ । लेकसाइडको गल्ली नम्बर १५, १६ र १७ मा पाइप बिछ्याउने काम भइसकेको छ । सुरुङ निर्माण सकिएपछि पोखरा महानगरपालिका–१० कुँडहरमा रहेको प्राधिकरणको सबस्टेसन क्षेत्रबाट तार बिछ्याउन सुरु गरिने आयोजनाले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्र बैङ्कचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो ।

विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ । पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । पोखरा सहरभरिको तारलाई भूमिगत गर्न ५ अर्ब रुपैयाँ बढी बजेट चाहिने आयोजना प्रमुख सुवेदीले बताए । पोखरा र भरतपुरमा तार बिछ्याउन २ अर्ब ५० करोड ३३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको हो । तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पु¥याउने काम पनि प्राधिकरण नै गर्नेछ ।

प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img