काठमाडाैँ । सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको अवस्थामा महानगर यातायात प्रालिले थप १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौंको चक्रपथ क्षेत्रमा यी बसले नियमित सेवा दिन थालेका हुन् ।
३३ सिट क्षमताका बसहरू उभिएर यात्रा गर्ने यात्रुलाई समेत सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एकैपटक करिब ७० जना यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेका यी बसमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ । पूर्ण चार्जमा बसले करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्ने बताइएको छ ।
चीनबाट आयात गरिएका यी बसहरू शशिला मोटर्स प्रालिले नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार प्रत्येक बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ । बसहरूमा आरामदायी सिट, आधुनिक सुविधा र यात्रु सुरक्षासम्बन्धी आवश्यक प्रबन्ध मिलाइएको बताइएको छ ।
महानगर यातायातले यसअघि गत वर्ष १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो । ती बसको सफल सञ्चालनपछि थप १६ वटा बस थपिएको कम्पनीले जनाएको छ ।
नयाँ बस सेवाको शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारी नै भविष्यको यातायात प्रणाली भएको उल्लेख गर्दै आगामी दिनमा सेवा अझ विस्तार गरिने बताए । प्रारम्भिक लगानी बढी भए पनि सञ्चालन खर्च कम हुने भएकाले विद्युतीय बस व्यवसायिक रूपमा लाभदायक रहेको उनको भनाइ थियो ।
उनले सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपतमा लगाएको करले विद्युतीय सवारी सञ्चालकहरूलाई असर पर्ने भन्दै यस्तो करमा छुटको व्यवस्था गर्न सरकारसँग आग्रह समेत गरे ।
महानगर यातायातका सञ्चालक समिति सदस्य धर्मराज रिमाल ले विद्युतीय बस सञ्चालन खर्च कम, प्राविधिक रूपमा सरल र मर्मतसम्भारको झन्झट न्यून भएकाले डिजेल बसको तुलनामा उल्लेख्य आम्दानी भइरहेको बताए । उनका अनुसार कम्पनीले हाल चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बस सेवा सञ्चालन गरिरहेको छ ।
यसैबीच, बस हस्तान्तरण कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले नेपालमा ठूला क्षमताका विद्युतीय सार्वजनिक सवारीको प्रवर्द्धन समयको आवश्यकता भएको बताए । उनले विद्युतीय बसहरू व्यवसायी र यात्रुका लागि मात्र नभई देशको ऊर्जा सुरक्षा, वातावरण संरक्षण र स्वदेशी विद्युत् खपत वृद्धिका लागि समेत महत्वपूर्ण रहेको उल्लेख गरे ।
उनका अनुसार शशिला मोटर्सले व्यावसायिक विद्युतीय सवारी साधनको बिक्रीसँगै गुणस्तरीय बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई प्राथमिकतामा राख्दै नेपालमा कमर्शियल ईभी इकोसिस्टम विकासमा काम गरिरहेको छ ।








