काठमाडाैँ । अविरल वर्षापछि गएको पहिरोले राष्ट्रिय प्रसारण लाइनका खम्बामा क्षति पुर्याएपछि बाजुराको विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–८ अन्तर्गत सुवाकाँध, वीरेखोला र नुनेपानी क्षेत्रमा पहिरो खस्दा ३२ वटा विद्युत् खम्बा ढलेका हुन् ।
आइतबार राति करिब ९ बजेदेखि अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराले प्राविधिक टोली परिचालन गरेको छ । तर, लगातार वर्षा भइरहेकाले पहिरो खस्ने क्रम नरोकिँदा मर्मत तथा पुनःस्थापनाको काम प्रभावित भएको छ ।
वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीका अनुसार सुवाकाँधमा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा पहिरोले ढालेका छन् । प्राविधिक टोलीले क्षतिग्रस्त क्षेत्रमा पुगेर काम अघि बढाउने प्रयास गरे पनि वर्षा भएपछि सुरक्षाका कारण फर्किनुपरेको उनले बताए ।
बाजुरामा अछामको साँफेदेखि सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । लगातारको वर्षासँगै साँफे–मार्तडी सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा प्रसारण लाइन र विद्युत् संरचनामा क्षति पुगेको हो ।
विद्युत् अवरुद्ध भएपछि सदरमुकाम मार्तडीसहित जिल्लाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ । विद्युत्मा निर्भर उद्योग तथा व्यवसाय, सञ्चार सेवा र दैनिक कामकाजमा समेत असर परेको छ ।
विद्युत् पुनःस्थापनाका लागि आवश्यक उपकरण र प्राविधिक टोली क्षतिग्रस्त क्षेत्रमा पुर्याउनसमेत सडक अवरोधका कारण कठिनाइ भएको छ । साँफे–मार्तडी सडकखण्ड विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध हुने र पहिरो हटाएपछि पुनः वर्षासँगै समस्या दोहोरिने गरेको स्थानीय प्रशासनले जनाएको छ ।
लगातारको वर्षा र पहिरोको जोखिम कायमै रहेकाले विद्युत् मर्मतको काम मौसममा सुधार आएपछि मात्र प्रभावकारी रूपमा अघि बढ्ने देखिएको छ ।











