काठमाडाैँ । धनुषामा निर्माण हुने ३० मेगावाटको ढल्केबर–२ सौर्य विद्युत् आयोजनाका लागि एभरेस्ट र नेपाल एसबीआई बैंकले १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
इन्टिग्रेटेड इन्जिनियरिङ एन्ड इन्डस्ट्रियल इन्टरप्राइजेजले प्रवर्द्धन गर्न लागेको आयोजनाका लागि दुवै बैंक र प्रवर्द्धक कम्पनीबीच ऋण लगानी सम्झौता सम्पन्न भएको हो । आयोजनाको कुल लागत १ अर्ब ९५ करोड ५६ लाख रुपैयाँ अनुमान गरिएको छ ।
कुल लागतको ७० प्रतिशत बैंक ऋण र बाँकी ३० प्रतिशत स्वपुँजीबाट व्यवस्थापन गरिनेछ । प्रवर्द्धक कम्पनीका अनुसार स्वपुँजीतर्फ ५८ करोड ७६ लाख रुपैयाँ लगानी हुनेछ ।
आयोजनाले २०८२ पुसमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरिसकेको छ । यस्तै, २०८३ भदौमा विद्युत् विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि आवेदन पेस गरिएको कम्पनीले जनाएको छ । ऋण लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनको महत्त्वपूर्ण चरण पूरा भएको हो ।
आयोजना सञ्चालनमा आएपछि वार्षिक करिब ५ करोड ९९ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान छ । उत्पादित विद्युत् करिब १.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडिनेछ । त्यसपछि विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ ।
आयोजनाको निर्माण सुरु भएको एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य प्रवर्द्धक कम्पनीले लिएको छ ।











